समाचारशुक्रबार, पौष १०, २०७२

थप इन्धन दिन चीन तयार, पारवहन सन्धिबारे छलफल

हिमालखबर

चिनियाँ उपराष्ट्रपति ली युनचाओले तत्कालका लागि नेपाललाई इन्धन सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।

pdchinaचीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग ९ पुसमा बेइजिङमा भएको भेटवार्तामा चिनियाँ उपराष्ट्रपति लीले पहिले एक हजार मेट्रिक टन पेट्रोल सहयोग गरेको स्मरण गर्दै थप सहयोग गर्न सकिने बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बेइजिङस्थित ग्रेट हलमा बिहीबार अपराह्न उपराष्ट्रपति लीसहित चीनको विदेश मन्त्रालयका अधिकारी र उपप्रधानमन्त्री थापाले नेतृत्व गरेको नेपाली टोलीबीच भेटवार्ता भएको हो।

उपप्रधानमन्त्री थापा नेतृत्वको टोलीले आज, १० पुसमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुअघि लीसँग भेटवार्ता गरेको हो। भेटवार्तामा सहभागी चीनका लागि नेपाली राजदूत महेश मास्केका अनुसार उपराष्ट्रपति लीसँग नेपालले व्यापारिक रुपमा इन्धन लिन चाहेको बताउँदै कर मिनाहा गरिदिन आग्रह गरेको छ।

उपप्रधानमन्त्री थापाले दुई देशबीचको सीमा व्यापार केन्द्रको विकास तथा स्तरोन्नति र पारवाहन सन्धिलाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए ।

उनले तातोपानी लगायत नेपाल–चीन बीचका सबै नाकाहरु सुचारु गर्न र केरुङ आइपुग्ने रेलमार्ग नेपालसम्म विस्तार गर्न पनि आग्रह गरेको भेटमा सहभागी अधिकारीहरुले बताएका छन्।

आज विदेशमन्त्री तहमा हुने द्विपक्षीय वार्तामा चाँडै पारवहन सम्झौता गर्नेबारे छलफल हुने छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लेईले संविधान लागू भएर नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणलाई दुवै देशले महत्व दिएको बताउँदै नेपालमा भारतीय नाकाबन्दीले संकट निम्त्याएको र चीनले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

भेटका अवसरमा उपराष्ट्रपति लीले दुई मुलुकबीच दौत्य सम्बन्धको छ दशक समयावधि पुगेको अवसरमा नेपालमा नयाँ संविधानपछि गठन भएको सरकारबाट उच्चस्तरको भ्रमण गरिएकामा स्वागत गर्दै भूकम्पपछिको नेपालको पुनःनिर्माणका प्रयास र नेपालको विकासमा पूर्ण समर्थन र सहयोग रहने विश्वास दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>