समाचारशुक्रबार, पौष १०, २०७२
नेपाल र चीनबीच ८ बुँदे सहमति
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा ८ बुँदे सहमति भएको छ ।
दुबैपक्षबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन र पूर्वाधार विकासका क्षेत्रमा दुईपक्षीय सहयोग अभिवृद्धि गर्ने सहमति भएको हो ।
यो सहमतिसँगै चीनबाट इन्धन आयात गर्ने नेपालको प्रस्ताव कार्यान्वयनमा ल्याउने तयारी थप अघि बढेको छ ।
नेपालको इन्धन समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि मूल्य, ढुवानी र अन्य विषयमा नेपाल आयल निगम र चिनियाँ कम्पनी बीच छलफल हुने परराष्ट्रमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस विषयमा छलफलका गरी सम्झौता गर्नका लागि नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु बेइजिङ पुग्दैछन् ।
यसका साथैे तीब्बतसँग सीमा जोडिएको नेपाली क्षेत्रमा चीनले इन्धन सहयोग उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।
गत १२ वैशाखको भूकम्पपछि बन्द रहेको तातो पानी नाका पुनः सञ्चालनको लागि चीन सरकार राजी भएको छ । तातो पानी नाका खोल्न चीन सरकारले उच्च प्राथमिकता दिने विज्ञप्तिमा जनाइएको छ ।
अरनिको राजमार्ग र अन्य सहायक मार्ग मर्मतका लागि चीन सरकारले करिब रु. १५ अर्ब अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धमा आजै अर्थ सचिव लोकदर्शन रेग्मी र चिनियाँ उप विदेश मन्त्री झाङ सियाङचेनबीच एक सम्झौतमा हस्ताक्षर भएको छ ।
उक्त सहयोगको घोषणा भने आगामी मार्च महिनामा हुने बोआओ सम्मेलनका बेला चिनियाँ राष्ट्रपतिले गर्नेछन् ।
त्यसैगरी चीन र नेपालबीचका विद्यमान नाकाहरुको स्तरोन्नती र सञ्चालनका साथै अन्य नाकाहरु खोल्न पनि दुवै पक्ष सहमत भएका छन् ।
स्वतन्त्र व्यापार, पारवहन र विप्पा सन्धिको प्रक्रिया अघि बढाउनका लागि दुवै देशबीच संयन्त्र गठन गरेर काम अघि बढाउने सहमति भएको छ ।
भूकम्पपछि काठमाडौंमा आयोजित दाता सम्मेलनका बेला चीन सरकारले घोषणा गरेका पुनःनिर्माणका परियोजनाहरु चाँडै कार्यान्वयनमा ल्याउने जनाएको चीनले पुनःनिर्माणका माध्यमबाट नेपालको औद्योगिक विकासका लागि सहयोग गर्ने चासो देखाएको छ ।
भूकम्पपछि नेपाल भ्रमण गर्दा सुरक्षा सतर्कता अपनाउन चीनले जारी गरेको सूचना पनि आजैदेखि हटाएको छ भने परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराएका छन् । यसबाट नेपालमा चिनियाँ पर्यटकहरुको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।