समाचारशनिबार, पौष ११, २०७२
कांग्रेस र एमाओवादीबीच छलफल
संविधान संशोधन र आन्दोलनरत मधेशकेन्द्रित दलका माग बारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमाओवादीबीच छलफल भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज, ११ पुसमा भएको द्विपक्षीय छलफलमा मधेशकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् ।
व्यवस्थापिका–संसद्को बैठक भोली, आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
कांग्रेस नेतृत्वको सरकारले सदनमा पेस गरेको संशोधन विधेयकको भाषा मिलाएर भए पनि सहमति गरेर जाने मनसायमा प्रमुख दलहरु छन् ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहकाअनुसार मधेशकेन्द्रित दलले उठाएको विषयमा साझा धारणा बनाएर जाने विषयमा प्रमुख दुई दलबीच छलफल भएको हो ।
जति सक्दो छिटो ठोस निष्कर्षमा पुग्ने सहमति भएको उल्लेख गर्दै उनले आजै अपराह्न ३ बजे कांग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुनः कांग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको बताए ।
कांग्रेससँगको छलफलमा एमाओवादी अध्यक्ष दाहालले लामो समयसम्म मुलुकलाई अप्ठ्यारो अवस्थामा राख्न नहुने भएकाले प्रमुख दलले कुनै न कुनै समाधान निकाल्नुपर्ने र त्यसमा कांग्रेसको सहयोगको अपेक्षा गरेका थिए ।
मोर्चाले उठाउँदै आएको सीमाङ्कनका विषयमा फराकिलो आधार तयार पार्दै राजनीतिक समितिमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । छलफलमा कांग्रेस र एमाओवादीका शीर्ष नेताको सहभागिता थियो ।
अध्यक्ष दाहालले हिजो पनि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले नेता माधवकुमार नेपाल तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
