थप समाचारशनिबार, पौष ११, २०७२

आफ्नो घर आफैं बनाऔं (टिप्पणी)

फुर्पा तामाङ

सरकार, दातृ निकाय, व्यक्ति जोसुकैले होस्; पूरा गर्न नसक्ने आश्वासन दिनुहुँदैन र दिएको आश्वासन पूरा गर्नुपर्छ।

laprakघरले मानिसलाई घाम, पानी, हावा, हुरी, बतास, चिसो, कीराफट्यांग्रा, जनावर आदिबाट जोगाउनुको साथै शान्ति दिन्छ। जति नै विपन्न भए पनि मानिस स्याउलाकै किन नहोस् घर बनाएर बस्छ।

घर सामाजिक प्रतिष्ठाको विषय पनि हो, आम्दानी बढेपछि मानिसले सबभन्दा पहिले एउटा गतिलो घर बनाउने योजना बनाउँछ। तामाङ जातिमा एउटा धार्मिक–सांस्कृतिक मान्यता के छ भने मानिस भएर जन्मेपछि घर बनाउनैपर्छ।

अरू समुदायका मानिसहरूको मान्यता पनि योभन्दा फरक छैन। मानिस आफ्नै घरभित्र अन्तिम श्वास छोड्न चाहन्छन्। गाउँभन्दा टाढा पुगेको अवस्थामा मृत्यु हुँदा पनि सकेसम्म घर ल्याइन्छ।

गाउँबाहिर मृत्यु भएका तामाङलाई घरमा ल्याई कम्तीमा एक दिन पूजा गरेर मात्र डाँडातिर लैजाने चलन छ। लाश जलाएपछि चिहान बनाइन्छ, यसलाई तामाङ भाषामा दुर्सा भनिन्छ।

दुर्सा बनाएन भने दिवंगत आत्माले स्वर्गमा बास पाउँदैन भन्ने धार्मिक विश्वास छ। कतिले त दुम्बुङ र क्षोर्तेन जस्ता मानी बनाउँछन्। सृष्टिमा बाँदरको मात्र घर हुँदैन भन्ने तामाङ जातिको मान्यता छ।

तर, १२ वैशाखको महाभूकम्प र त्यसपछिका धक्काहरूले करीब नौ लाख परिवार नेपालीलाई पाखोबारीमा पुर्‍याइदिएको छ। मर्ने मरिगए, बाँच्नेहरूले घर बनाउन सकेका छैनन्। यही वेला हिउँ पर्ने सिजन शुरू भएको छ।

पुस–माघलाई त कुकुरले पनि गन्हाउने महीना भन्छ रे, अति नै जाडोले हिंडडुल गर्न नसकी टाउको र पुच्छर जोडेर सुतिरहनुपर्दा। यस्तो उखानको मौसममा हिमाली जिल्ला रसुवाका मात्र १८ गाविसका ९८ प्रतिशत घरका परिवार पाखोमा बसिरहेका छन्।

उनीहरू बढीमा त्रिपाल र जस्ताको ओतमा छन्। कतिपय गाउँले चिसो बारीमा थर्पु बनाएर बसेका छन्। बालबालिका, अपाङ्गता भएका, बिरामी, वृद्धवृद्धाहरू ठूलो बिजोगमा छन्। पीडितहरूको हृदयमा झ्न् चिसोपन थप्ने काम भएको छ– विशेषतः सरकार र दातृ निकायहरूबाट पनि।

दातृ संस्थाहरूले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने काठमाडौं सम्मेलनमा बताएका थिए। उनीहरूले भूकम्पले क्षति पुर्‍याएका घरहरू बनाइदिन्छौं भन्नु धेरै राम्रो हो, तर सरकार र दातृ संस्था दुवैबाट यो विषयमा अहिलेसम्म ठोस काम हुन नसक्दा पीडितहरू मर्कामा छन्। सरकार र दातृ संस्थाले घर बनाइदिन्छौं भनेका त छन्, तर कहिलेसम्ममा? बेटुंगो भयो।

सरकारले त सहुलियत व्याज दरमा विना धितो रु.२ लाख ऋण दिने र प्राविधिक खटाएर भूकम्प प्रतिरोधक घरको डिजाइन बनाइदिने पनि भनेको छ। तर, कुन काम पहिले हुने अनिश्चय छ।

यस्ता आश्वासन मात्र दिएको सरकारले ऐन जारी गरे पनि पुनःनिर्माण प्राधिकरण भने बनाउन सकेको छैन। यस विषयमा प्रमुख दलहरूको झ्गडा मात्र जारी रहँदा भूकम्पपीडित १४ जिल्लामा निराशा बढेको छ– कहिले ऐन बनेर पीडितहरूले घर पाउने?

अब के गर्ने?

मागी मीठो खाँदैन,

चोरी राम्रो लाउँदैन,

सधैं आफ्नो पाखुरीमा खान्छ सिठोपिठो

यो नेपाली ठिटो।

स्वर्गीय सूर्यकुमार थुलुङले गाएको राष्ट्रिय गीतको एक पंक्ति हो यो। अब भूकम्पपीडितहरूले अरूको आश गरेर कतिन्जेल कुर्ने? भूकम्प गएको आठ महीना भइसक्यो। वर्षा सकिएर हिउँद आइसक्यो। सरकार र दलहरूको सधैंको ताल यही हो।

अरूको आशमा यसरी पर्खिरहँदा भोकै परिने दिन पनि आउन सक्छ। त्यसैले अब कति सकिन्छ, पुर्खाले सिकाएको स्वाभिमान अनुसार आफ्नै पाखुरी चलाउनुपर्छ।

१९९० साल र विश्व समुदायको सहयोग पाउने कल्पनै नभएको त्यसअघि पनि ठूल्ठूला भूकम्पहरू आएका थिए। त्यसवेला बाँचेका हाम्रा पुर्खाहरूले आफ्नो दुःख आफैं टार्दै आफ्नै पाखुरीको भरमा नेपाली सभ्यता अगाडि बढाए।

हामी पनि अब अरूले घर बनाइदिन्छ भनेर नकुरौं। सहयोग आयो भने ठीकै छ, नआए पनि जति सकिन्छ गर्न आफैं अग्रसर होऔं। एकले अर्कालाई सघाउने हाम्रो परम्परा नै छ, पालैपालो घरहरू बनाऔं।

यसरी हाम्रो परम्परागत वास्तुशैलीको राम्रो संरक्षण हुन्छ, आधुनिकताको नाममा टुट्दै गएको आत्मीयता बढ्छ र हाम्रो गाउँघरले छिट्टै पुनर्जीवन पाउँछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>