समाचारआइतबार, पौष १२, २०७२
कोरम नपुगेपछि संसद बैठक स्थगित
व्यवस्थापिका–संसद्को आजको बैठकमा मन्त्री सोमप्रसाद पाण्डेले सरकारका तर्फबाट ‘मनमोहन अधिकारी स्वास्थ्यविज्ञान प्रतिष्ठान विधेयक, २०७२’ पेश गरे पनि बैठकमा कोरम नपुगेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएपछि पेश हुन पाएन । कोरम नपुगेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
त्यसअघि अर्थमन्त्री विष्णु पौडेलले ‘बैंक तथा वित्तिय संस्था सम्बन्धी विधेयक, २०७२’ प्रस्तुत गरे ।
महतोमाथि भएको कुटपिटको विरोध
निर्धारित समयभन्दा सवाघन्टा ढिलो प्रारम्भ भएको आजको व्यवस्थापिका–संसद्को बैठकको शुरुमा सभामुखसँग समय लिएर सद्भावना पार्टीका सांसद् नरसिंह चौधरीले मधेशमा जारी आन्दोलन दबाउन गृह प्रशासनबाट हस्तक्षेप भएको भन्दै विरोध गरे ।
विराटनगरमा आफ्ना पार्टी अध्यक्ष राजेन्द्र महतोमाथि कुटपिटको विरोध गर्दै उनले मधेशको आन्दोलन र भूकम्पपीडित जनताका समस्या तत्काल समाधान गर्न सदन र सरकारको ध्यानाकर्षण गराए ।
जनकपुर घटनामा संलग्न चारजनामाथि मुद्दा
गृहमन्त्री शक्तिबहादुर बस्नेतले १ पुसमा जनकपुरमा भएको घटनाबारे जानकारी गराएका छन् ।
जानकी मन्दिरमा तोडफोड तथा राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार गरेको अभियोगमा ११ पुरुष र चार महिला पक्राउ परेकामा तीन जनालाई सार्वजनिक अपराध ऐन र एकलाई प्राचीन स्मारक ऐनअन्तर्गत कारबाही अघि बढाइएको गृहमन्त्रीले बस्नेतले संसदलाई जानकारी गराए ।
राष्ट्राध्यक्षमाथि अभद्र व्यवहार गर्ने तथा जानकी मन्दिरका महन्थमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारेका थिए ।
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारी सम्मिलित छानबिन टोली गठन गरिएको जानकारी दिए ।
वार्ता र संवादको माध्यमबाटै तराई–मधेसमा जारी आन्दोलन समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले इन्धनलगायत दैनिक उपभोग्यका सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन बिना अवरोध राजमार्ग सञ्चालन गर्न सरकार क्रियाशील रहेको बताए ।
मधेश केन्द्रित दलका सांसदको होहल्ला र नाराबाजीकाबीच गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा सरकारको धारणा प्रस्तुत गरेका हुन् ।