समाचारआइतबार, पौष १२, २०७२
चमेलियाको पैसा नरोकिने, मुल्यांकन गरेर भुक्तानी दिन्छौंः उर्जामन्त्री
उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायामाझीले विवादित चमेलिया जलविद्युत आयोजनाको काम अघि बढाउन सुरुङ साँघुरिने समस्या समाधान (टनेल स्क्वीजिङ ट्रिटमेन्ट) को भुक्तानी कामको मुल्याङ्कन गरेर मात्र दिने बताएका छन् ।
यससँगै ३० मेगावाटको यो आयोजना अबको एक वर्षभित्र बनिसक्ने संभावना बढेको छ ।
मन्त्री रायमाझीले सार्वजनिक लेखा समितिको १२ पुसमा बसेको बैठकमा उक्त भने, “कामको मुल्यांकन गरी भुक्तानी दिनपरे दिन्छौं, चमेलियाको काम अघि बढाउनु पर्छ ।”
समितिले गत १३ असारमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई चमेलियाको काम अघि बढाउन टनेल स्क्वीजिङ ट्रिटमेन्टको काममा ‘आफैँ मुल्याङ्कन गरी भुक्तानी दिन’ भन्दै बाटो खोलिदिएको थियो ।
लेखा समितिकै निर्देशनका कारण चमेलियाको टनेल स्क्वीजिङको काम डेढ वर्षदेखि रोकिएको छ ।
लेखाले २०७१ असार १७ मा टनेल स्क्वीजिङको भुक्तानी रोकेको थियो ।
तत्कालीन उर्जामन्त्री राधाकुमारी ज्ञवालीले प्रक्रिया नै मिचेर ठेकेदारको माग बमोजिम टनेल स्क्वीजिङमा रू. १ अर्ब ८ करोड ३८ लाख भेरिएसन दिने निर्णय गरेकी थिइन् ।
लेखाले त्यस विषयमा अध्ययन गरी करिब रू. ५५ करोड अनियमितता भएको ठहर गरेको थियो ।
लेखाको निर्देशनका कारण पैसा नपाएपछि ठेकेदारले काम रोकेको हो ।
लेखाको छानबिनले चमेलियाको टनेल स्क्वीजिङमा प्रयोग भएको एक किलो फलामकै रू. ६ सय परेको पुष्टि गरेको छ । उक्त आयोजनाको तल्लो तहका कर्मचारीको तलव समेत रू. एक लाख माथि छ ।
“चमेलियाको कामको मुल्यांकन गरेर भुक्तानी दिनुहोस् र काम अघि बढाउनुहोस्,” लेखा सभापति जनार्दन शर्माले भने, “स्वयं मन्त्रालय जिम्मेवार बन्नुहोस् । यो विषयमा फेरी छलफल गर्नु नपरोस् ।”
उर्जा सचिव सुमन शर्माले पनि ठेकेदारलाई भुक्तानी दिएर चमेलियाको काम अघि बढाउने बताए । “मुल्यांकन गर्दा बढी पैसा गएको देखिए त्यसलाई फिर्ता गर्छौं,” उनले भने, “अहिले भुक्तानी दिएर काम अघि बढाउँछौं ।”
सरकारी ढिलासुस्ती र भेरिएसनका लागि चलखेल हुँदा २०६८ बैशाखमा सकिने यो आयोजनामा शतप्रतिशत भेरिएसन भएको छ ।
आयोजनाको शुरु निर्माण लागत करिब रू. ८ अर्ब ५० करोड हो । तर, आयोजनाको सिभिल काममा करिब ३ सय प्रतिशत भेरियसन हुँदा यसको लागत रू. १५ अर्ब नाघेको छ । रू. १ अर्ब २० करोड क्षतिपूर्ति सहित यो आयोजनाको प्रतिमेगावाट लागत करिब ५६ करोड रुपैयाँ पुग्ने देखिन्छ ।
“माथिल्लो तामाकोशी प्रति मेगावाट ९ करोड रुपैयाँमा बन्ने, चमेलिया चाहिँ ५६ करोड रुपैयाँ लाग्ने ?,” लेखाको बैठकमा सभासद रामहरि खतिवडाले आक्रोश पोखे ।