समाचारमंगलबार, पौष १४, २०७२
धर्नाबीच राति–राति सामान भित्रदै
भारत–रक्सौल सीमाको दशगजास्थित मितेरी पुलमा मधेशी मोर्चाले धर्ना दिइरहे पनि पछिल्ला दिनमा उक्त नाका हुँदै उल्लेख्य रुपमा सामान भित्रिइरहेको छ ।
गएराति मात्रै रक्सौलबाट भित्रिएको ६ ट्रक भन्दा बढी समान वीरगञ्जस्थित भन्सार कार्यालय परिषरमै छ ।
१३ पुस राति ठेला, टांगा, रिक्सालगायतका साधनबाट कपडा, प्लास्टिकका सामान, भाँडाकुडा, डिजल, पेट्रोल, खाद्यान्न लगायतका समाग्री करिब ६० जनाको समूहले भित्र्याएको धर्नामा बसेका बाराको पकडीयाका लक्ष्मीलाल त्यागीले बताए ।
उनका अनुसार धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुले समान रोक्न प्रयास गरे पनि धर्नाकारीभन्दा सामान भित्र्याउनेको समूह ठूलो भएको र उनीहरुले बलजफ्ती गरेकाले रोक्न नसकिएको हो । ब्यवसायीहरुसँग निश्चित रकम लिई तोकेको स्थानमा सामान पुर्याइदिने यस्ता ‘बलेकीया’ राति ठूलो संख्यामा आएर सामान पास गराउने त्यागीले बताए ।
लामो समयको नाकाबन्दीले सामान भारतर्फ नै अड्किएपछि ब्यापारीहरुले ‘बलेकिया’ हरुको मद्दत लिन थालेका हुन् । यसरी आउने अधिकांश सामान भन्सार कार्यालय सम्म नपुगेरै सोझै ब्यापारीको गोदाममा पुग्छ । स्थानीय बोलीचालीमा सामान भन्सारमा नलगी सोझै ब्यापारीको गोदाममा पुर्याउनेलाई ‘तस्कर’ र भन्सार कार्यालयसम्म पुर्याइदिनेलाई ‘बलेकीया’ भनिन्छ ।
आज भारतले नाकाबन्दी गरेको ९८ दिन पुगिसकेको छ । यसबीचमा यस्ता ‘तस्कर’ र ‘बलेकीया’ को संख्या पनि ह्वात्तै बढेको छ । यसरी सामान भित्र्याउँदा भारतीय प्रहरी र मोर्चाका स्थानीय नेताहरुसँग पनि ‘लाईन’ मिलाउनु पर्ने बलेकीयहरु नै बताउँछन् ।
भारतबाट नेपाल भित्रिने ६० प्रतिशत भन्दा बढी समान वीरगञ्ज हुँदै भित्रिन्छ । रक्सौलबाट एउटा ठूलो पोका वीरगञ्जसम्म पुर्याउँदा सामान हेरेर १५ सयदेखि ५ हजारसम्म लिने गरेको वीरगंज भन्सार यार्डमा समान भित्र्याएका बलेकीया विकास यादवले बताए ।
उनका अनुसार सामान ग्राहकले भनेको ठाउँमा जुनुसुकै अवस्थामा पनि सुरक्षित पुर्यादिने गरी उनीहरुले अर्डर लिन्छन् । सामान बीचमै सामान हरायो/नासियो भने त्यसको हर्जाना बलेकीयाले नै तिर्नुपर्छ ।
अहिले सामान भित्रिरहँदा भन्सार कार्यालयको राजश्व संकलन पनि वृद्धि भएको भन्सार अधिकृत लोकराज पन्तले बताए । उनले भने, “पहिले दैनिक हजारमा हुने राजश्व संकलन अहिले लाखौंमा पुगेको छ ।”
पन्तका अनुसार १३ पुसमा मात्रै वीरगञ्ज भन्सार कार्यालयले रु २१ लाख ८३ हजार राजश्व असुली गरेको छ ।
मधेश बन्दको १३८ औँ दिन पुग्दा १४ पुस बिहान ११ बजे नाकाको मितेरी पुलमा धर्ना बस्ने मोर्चाका कार्यकर्ताहरु देखिएनन् । धर्नाकारीको संख्या घट्दै गएपछि बलेकीयालाई सामान पास गराउन पनि सजिलो भएको छ ।
एकातिर धर्नाकारीको संख्या कम छ भने दुवैतर्फ प्रहरीको सुरक्षा पनि छैन ।
आज बिहान धर्नास्थलमा एक जना जोगी आगो तापिरहेका देखिए भने उनीसँगै दुईजना सहयोगीहरु घाम तापिरहेका थिए ।
जियालाल साह, वीरगञ्ज