अर्थ/बजारमंगलबार, पौष १४, २०७२
अर्थतन्त्रलाई नोक्सानी पुग्ने क्रियाकलाप अपराध होः रामशरण महत, विश्वासको संकटबाट कसलाई बढी दुखेको छ ?: भारतीय राजदूत
पूर्व अर्थमन्त्री रामशरण महतले अर्थतन्त्रलाई नोक्सानी पुग्ने कुनैपनि क्रियाकलाप अपराध भएको बताएका छन् ।
नेपाल–इन्डिया चेम्बर अफ कमर्स (निक्की) र एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) ले १४ पुसमा राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले छिमेकमा शान्ति र स्थायित्व मात्रै चाहेको र नेपाललाई नोक्सानी पु¥याउन कुनै प्रयत्न नगरेको दाबी गरेपछि महतले उक्त कुरा बताएका हुन् ।
“नाकाबन्दी हो वा अर्ध नाकाबन्दी हो अथवा अनौपचारिक नाकाबन्दी, म जान्दिन,” कांग्रेस नेता महतले भने “ब्यापारमा अवरोध भएको चाहीँ तथ्य हो, ब्यापारमा अवरोध हुनुहुँदैन ।”
उनले बन्द हड्तला वा अन्य कुनैपनि क्रियाकलापले अर्थतन्त्रमा नोक्सानी पुर्याउने अपराध भएको बताए ।
राजदूत रेले भारत छिमेकीसँगै अघि बढ्न चाहेको बताए । “छिमेकी सँगसँगै अघि बढ्नु यो क्षेत्रको एउटामात्र बाटो हो,” उनले भने, “भारतको आर्थिक वृद्धि अहिले साढे सात प्रतिशत छ, यो क्षेत्रमा शान्ति र स्थायित्व भए दुई अंकमा आर्थिक वृद्धि गर्ने भारतको चाहना पूरा हुन्छ ।”
उनले नेपाल भारत सम्बन्ध ज्यादै बलियो रहेको भन्दै भारतको आर्थिक वृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । भने, “तपाइँहरु ब्यबहारिक बन्नुपर्छ, आखिर यो अविश्वासको वातावरणबाट कसलाई बढी दुखेको छ ? निश्चय पनि दुवै देश खासगरी नेपाललाई नोक्सानी भइरहेको छ ।”
राजदूत रेले अहिलेको नेपाल भारत समस्या सानो भएको र ढिलो छिटो समाधान हुने बताए ।
“भन्सार र गैर भन्सार अवरोधको कुरा उठ्छ, वर्षौंदेखि समस्या उही छन् । तर समाधान लागि केही काम भएको छैन,” उनले भने, “हामी भारतले के गर्नुपर्ने र कसरी सहयोग पुर्याउनुपर्ने हो, त्यसका लागि तयार छौं । अविश्वास हटाउन प्रतिबद्ध छौं । तर, कुरा के हो भन्नेमा कम्तिमा प्रष्ट संवाद त हुनुपर्यो ।”
कार्यक्रममा महतले नेपाल भारतप्रति धेरै कुरामा निर्भर रहेको उल्लेख गरे । उनले यस्तो अवस्थामा ब्यापारमा भएको अवरोधले भूकम्पबाट पुगेको भन्दा ठूलो क्षति भएको बताए ।
“यो दुवै देशमा भएको खराब राजनीतिको नतिजा हो,” उनले भने, “मलाइ यसो भनिरहँदा दुःख लागेको छ ।” उनले नेपालमा जे भएको छ त्यो संवैधानिक तथा राजनीतिक मुद्दा भएको बताए ।
“संघीयता र सीमांकनका विषयमा हामीबीच विमति होला,” उनले भने, “यस्तो विमति विधि र प्रक्रिया अनुसार हामी आफैँ समाधान गछौं ।”
कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले आर्थिक मुद्दालाई राजनीतिकरण गर्दा समस्या आएको बताए ।
“राजनीतिक प्रक्रिया आफ्नै ढङ्गले अघि बढ्न दिऔं,” ओझाले भने, “यसका कारण अर्थतन्त्रलाई बन्धकी नबनाऊँ । अवस्था सामान्य बनाउनु दुवै सरकारको दायित्व हो ।”
उनले नाका अवरोधबाट दुवै देशको सरकार फाइदामा नरहेको बताए । “यसबाट कालोबजारी र अनौपचारिक क्षेत्रमात्र फाइदामा छ ।”
उनले नाका अबरोधबाट आयल निगमले १५ प्रतिशतमात्र पेट्रोलियम पदार्थ ल्याउन सकेको र बाँकी ८५ प्रतिशत पेट्रोलियम पदार्थको कारोबार कालो बजार र अनौपचारिक क्षेत्रमा पुगेको बताए ।
“काठमाडौंमा सवारी साधनको चहलपहल पूर्ववत अबस्थामा छ,” ओझाले भने, “यसबाट कालोबजार र अनौपचारिक क्षेत्र मौलाएको छ जुन ज्यादै खतरनाक छ ।”
उनले यसबाट सरकारले मासिक रू. ३ अर्ब राजश्व गुमाएको, ढुवानी ब्यबसायीले मासिक रू. ५० करोड र पम्प सञ्चालकले रू. ३० करोडको कारोबार गुमाएको बताए ।
“आयल निगमले एक अर्ब नाफा कमाउनबाट बञ्चित भएको छ,” उनले भने, “पम्पमा काम गर्ने ८ हजार मजदुरले रोजगारी गुमाएका छन् ।”
-लोकमणी राई