समाचारशुक्रबार, पौष १७, २०७२

पर्साबाट १२८ जना महिला–बालबालिकाको उद्धार

हिमालखबर

माइती नेपाल वीरगञ्जले एक वर्षमा (सन् २०१५) मा १२८ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

गत वर्ष १३८ जना महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको संस्थाले यस वर्ष १२८ जना बालबालिका तथा महिलाहरूको नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको हो ।

माइती नेपालकी पर्सा प्रमुख संगीता पुरीका अनुसार यस वर्ष ठोरी र वीरगञ्ज नाकाबाट उद्धार गरिएका १२८ मध्ये ११६ जनालाई प्रहरी मार्फत अभिभावकको जिम्मा लगाईएको, १० जनालाई माईती नेपालको केन्द्रीय कार्यालय र अन्य शाखाहरुमा पठाईएको र दुई जना वीरगञ्जमै राखिएको छ ।

उनीहरुलाई दलालहरुले ललाई–फकाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो ।

“धेरै जसोलाई राम्रो कमाई हुने प्रलोभन देखाउने गरिएको छ । आर्थिक अवस्था कमजोर भएका महिला प्रलोभनमा सजिलै फस्छन् ।”

यसरी फकाउन पछिल्लो समय टेलिफोन, फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोग बढेको उनले बताइन् । जारी मधेश आन्दोलनका क्रममा नाकामा राम्रोसँग निगरानी गर्न नपाएको पनि उनको भनाई छ ।

बन्द हड्तालका कारण यातायातका साधन कम चलेकोले चेलिबेटी बेचविखनमा केहि कमी आएको हुनसक्ने अनुमान उनको छ ।

गत वर्ष ८८ जना बालबालिका तथा महिला हराएको निवेदन परेको थियो भने यस वर्ष ३० वटा निवेदन परेको र सोमध्ये १४ जना महिला तथा बालबालिकालाई उद्धार गरी अभिभावको जिम्मा लगाएको प्रमुख पुरीले जानकारी गराईन् ।

हराएका ३० जनामध्ये सबैभन्दा बढी पर्साबाट १३ जना हराएका छन् । हराएका महिला तथा बालबालिका मध्ये १० जनालाई मोतीहारी, आदापुर, दिल्ली, रक्सौल, पटना र वीरगंजबाट उद्धार गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी ठोरी नाकाबाट उद्धार गरिएका ४० जनामध्ये २१ जना चितवन र १० जना पर्साका रहेका छन् । उद्धार गरिएका मध्ये ३९ जनालाई अभिभावकको जिम्मा लगाईएको छ । ठोरी पोस्टमा चारजना बालबालिका तथा महिला हराएको निवेदन परेकोमा खोजबिन भइरहेको उनको भनाई छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>