थप समाचारशुक्रबार, पौष १७, २०७२
उद्यमशील उषा
तीन वर्षअघि कोठेबारीमै तारजालीले बेरेर एकहजार ब्रोइलर कुखुरा पाल्न थाल्दा दमक–१० की उषा थापा (३८) लाई ‘खानलाउन पुगेकी बुहारीको नसुहाउँदो काम’ भनी धेरैले टिप्पणी गरे। तर, उनको तर्क हुन्थ्यो, “ज्यानलाई धेरै आराम दियो भने राम्रो हुन्न, सकेको काम गरिरहनुपर्छ।”
उषा बिहानै कुखुरालाई चारो, पानी आफैं दिन्छिन्, सुली सोहोर्छिन्। अण्डा बटुलेर बजार पठाउन र पैसा उठाउन पनि आफैं दगुर्छिन्। आफूले नभ्याउँदा मात्र श्रीमान् (शम्भु थापा) को सहयोग माग्छिन्।
इटहरी, सुनसरी माइती भएकी उषा काठमाडौंमा अध्ययनका क्रममा २०५७ सालमै एक मिनरल वाटर उत्पादन कम्पनीमा बजार अधिकृतको काम गर्थिन्। विना उद्यम दिन कटाउनु सजाय झै मान्ने उनी ८२ वर्षे उमेरमा पनि किराना पसल चलाइरहेका बाबु तेजबहादुर सुवेदी प्रेरणा–स्रोत भएको बताउँछिन्।
रु.१५ लाख लगानीमा शुरू भएको उनको गरुड कृषि उद्योगको लगानी अहिले एक करोड हाराहारी पुगेको छ। पाँचहजार कुखुरा छन्। यी कुखुराका दैनिक करीब साढेचार हजार अण्डा झापा र मोरङका विभिन्न बजारमा पुग्छन्।
“सबै खर्च कटाएर महीनाको साढे तीनलाख जति कमाइ भइरहेको छ”, उनी भन्छिन्, “सुली मात्रै मासिक २० हजार रुपैयाँको बिक्छ।” सुलीको आम्दानीले दुई छोराको छात्रावास खर्च टर्छ।
माछापालन र तरकारी खेतीको नयाँ योजना बुन्दै गरेकी उषा आफ्नो खुट्टामा उभिन श्रम गर्नुपर्ने बताउँछिन्। भन्छिन्, “अर्काका खुट्टामा उभिनेहरू दास हुनुपर्छ, महिला दास बन्नुहुँदैन।”
गोपाल गडतौला, झापा