समाचारशुक्रबार, पौष १७, २०७२
संवैधानिक इजलासमा पहिलो सुनुवाई
नयाँ संविधान अनुसार सर्वोच्च अदालतमा गठन भएको संवैधानिक इजलासमा आज पहिलोपटक सुनुवाई भएको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा सर्वोच्चका वरिष्ठतम ५ न्यायाधीश सम्मिलित इजलास २२ मंसीरमा गठन भएको थियो ।
आजको सुनुवाई गणेशराज राईसमेत २८ प्रहरी अधिकृतहरुले दिएको रिटमाथि भएको हो । प्रहरी सेवामै रहँदाका बखत खुला प्रतिष्पर्धाबाट प्रहरी निरीक्षकमा छानिएपछि सेवा अवधि गणना गर्दा निरीक्षक हुँदाकै बखतदेखि गणना गर्नुपर्ने मागसहितको रिट लिएर सर्वोच्चमा रिट दायर भएको थियो ।
प्रहरी नियमावलीमा भएको प्रहरी अधिकृत हुनुअघिको समेत सेवा अवधि गणना गरिने व्यवस्था संविधानको समानताको हक प्रतिकूल रहेको दावी गर्दै त्यसलाई खारेजीको माग लिएर २२ असोजमा रिट दर्ता भएको थियो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको यसअघिको इजलासले उक्त रिट संवैधानिक इजलासबाट हेर्ने गरी तोकेको थियो । त्यसै अनुरुप १७ पुसमा पहिलोपटक संवैधानिक इजलासमा सुनुवाई भएको हो ।
इजलासले निवेदकको मागदाबी बमोजिम रिट जारी गर्न अस्वीकार गरेको छ । प्रहरी नियमावलीमा सेवा अवधि गणनाको व्यवस्था संविधान प्रतिकुल रहेको दाबी अस्वीकार गरे पनि सर्वोच्चले प्रहरी सम्बन्धी सारभूत कुरा नियमावलीबाट झिकेर एेनमै ब्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश अध्यक्ष रहने गरी वरिष्ठतम न्यायाधीशहरु गिरिशचन्द्र लाल, सुशीला कार्की, वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको इजलास गठन गरेका थिए ।
-तुफान न्यौपाने
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
