समाचारशुक्रबार, पौष १७, २०७२
जातीय भावना फैलाउँदै आन्दोलन गरिएको छ: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाले मधेशमा जातीय भावना फैलाएर आन्दोलन गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी मोर्चाको त्यो प्रयास कुनै पनि अवस्थामा सफल नहुने बताए ।
एमाले लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता भेलाको आज बुटवलमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मधेशमा भइरहेको आन्दोलनले मधेशी जनता नै सबैभन्दा पीडित भएकाले एमाले जनतालाई सचेत बनाउन गाउँ गाउँ जाने बताए ।
संविधानले मधेशी जनतालाई दिएको अधिकारका विषयमा बुझाउने काममा केही ढिलाइ भएको बताउँदै देश विभाजन गराउने खेलमा एउटा शक्ति लागेकाले आमनेपाली गम्भीर हुनुपर्ने अवस्था आएको नेता नेपालको भनाई थियो ।
नेता नेपालले नेपालमा जातीय विभेदको भावना शुरुमा एमाओवादीले नै बिजारोपण गरेको र अहिले त्यसको नतिजा प्राप्त भइरहेको उल्लेख गरे ।
मधेशी र पहाडीका बीचमा दूरी बढाएर राजनीति गर्नेलाई अब नेपाली जनताले चिनिसकेको र उनीहरुको प्रयास सफल नहुने मधेशका जनताले नै जवाफ दिइसकेको नेपालले भने ।
दुई दिनसम्म हुने भेलामा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसालले कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि सहभागीले सामूहिक छलफल गरेर निष्कर्ष निकाल्ने कार्यक्रम छ ।
रासस