समाचारशुक्रबार, पौष १७, २०७२
राजेन्द्र महतो उपचार गराउन दिल्ली गए
उच्च रक्तचाप र मधुमेहको समस्याले ग्रस्त सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि भारतको दिल्ली गएका छन् ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका महतो आज, १७ पुसमा काठमाडौं आएर एयर इन्डियाको ४ बजेको उडानबाट दिल्ली तर्फ लागेका हुन् । उनको दिल्ली नजिक हरियाणाको गुडगावँस्थित मेदान्त मेडिसिटीमा उपचार हुने छ ।
१२ पुसमा विराटनगर-जोगवनी नाकामा धर्ना दिएका बेला प्रहरीसँगको झडपमा परी घाइते भएका महतोको विराटनगरको गोल्डन अस्पतालपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
अन्य अवस्था सामान्य रहे पनि उनको रगतमा चिनीको मात्रा र रक्तचापको समस्या नियन्त्रणमा आउन नसकेपछि उनलाई दिल्ली लगिएको हो ।
रक्तचाप अत्यधिक भएका महतोलाई एयर इण्डियाले मस्तिष्क घात हुनसक्ने भन्दै उडाउन नमानेपछि एयरपोर्टमै नर्भिक अस्पतालका चिकित्सकले स्वास्थ्य परिक्षण गरेको सदभावाना पार्टी केन्द्रीय सदस्य उपेन्द्र महतोले बताए ।
उनका अनुसार चिकित्सकले ‘उडानका लागि योग्य’ भन्ने प्रमाणित गरिदिएपछि मात्रै फ़्लाइट क्याप्टेनले महतोलाई विमानमा बस्न दिएका थिए ।