समाचारशुक्रबार, पौष १७, २०७२
प्रम ओलीले भने, ‘कस्तो अधिकार चाहिएको हो’
प्रधानमन्त्री केपी ओलीले संविधानले सबैलाई समान अधिकार दिएको भन्दै अधिकार पाइएन भनेर भ्रम खेती नगर्न आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने नवकरणीय उर्जा प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “खाली पाखुरा सुर्काएर, ठूला कुरा गरेर, एउटा कण्ठ भएको मन्त्र- ‘अधिकारका निम्ति लडिरहेका छौं,’ भनेर हुन्छ ?”
उनले सोधे, “कस्तो अधिकारका निम्तिको लडाइ हो ? अधिकार के चाहिएको हो ? अब पनि कुन अधिकार प्राप्तिको लडाई ? असमानता र विभेद सबै सकियो । अधिकार पाएन भनेर भ्रमको खेती गरिएको छ । ”
संविधानले सबैलाई समान हक अधिकार प्रदान गरेको, पिछडिएकाहरुको लागि विशेष प्रबन्ध गरिएको भन्दै उनले अब अधिकार उपभोग गर्न सक्नेगरी अघि बढ्नु पर्ने धारणा राखे ।
विकास निर्माणमा बाधा पुर्याएर नयाँ नेपाल नबन्ने भन्दै ओलीले प्राकृतिक सम्पदाको उपयोग गरि उन्नतिको दिशामा अघि बढ्नुपर्ने बताए ।
उनले भने, “आज सन २०१६ को पहिलो दिनको न्यू ईनर्जीका कुरा आए, नयाँ प्रयासहरु कस्तो मजाको दिन ।”
उनले वैकल्पिक उर्जातिर यात्राको प्रारम्भ भएको भन्दै थपे, “ह्याप्पी न्यू एयर ।”
उनले राजनीतिक अधिकार प्राप्तिका साथै सामाजिक असमानता विभेदका विरुद्ध संघर्ष गर्नुपरेको स्मरण गर्दै अब त्यो टुंगिएको दाबी गरे ।
नयाँ संविधानले सबै अधिकारहरु संस्थागत गरेकोले अब आर्थिक उन्नति, पुर्वाधार निर्माणको चरणमा प्रवेश गरेको बताएका थिए ।
उनले एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने दोहोर्याउँदै ‘ढिलो हिड्न बानी परेकाहरु’ ले मात्रै एक बर्षमा यो हुनै सक्दैन भन्ने गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
