ब्लगशुक्रबार, पौष १७, २०७२
अनुभूति : मेरो दौरा–सुरुवाल र टोपी
तत्कालीन युवराज दीपेन्द्रसामु जानुपर्ने भएकैले मैले पहिलोपटक ढाका टोपीसहित नेपाली पहिरन लगाएँ ।
१ जनवरीको टोपी दिवसका अवसरमा फेसबूकका भित्ताहरूमा नेपाली ढाका टोपी लगाएका तस्वीरहरू पोष्ट गर्ने लहर चलिरहेको छ । यतिवेला म भने पहिलोपटक राष्ट्रिय पोशाक दौरा–सुरुवाल र टोपी लगाएको सम्झिरहेको छु ।
मेरो बुबालाई दौरा–सुरुवाल र टोपीबाहेकको पहिरनमा मैले कहिल्यै देखेको छैन । घर बस्दा होस् या बाहिर, उहाँको पहिरन भनेकै यही नेपाली राष्ट्रिय पोशाक नै हो । उहाँको शिरमा टोपी कहिल्यै टुट्दैन । बुढेसकालसम्म दाजु, दिदी, बहिनी, आफन्त सबैले उहाँलाई दिने महत्वपूर्ण उपहार भनेकै दौरा–सुरुवाल र टोपी नै हो । सानोमा रहरले कहिलेकाहीं बुबाको टोपी लगाई टोपले पनि औपचारिक रूपमा दौरा–सुरुवाल जीवनमै पहिलो पटक त्यतिवेला लगाएँ, जतिवेला मलाई तत्कालीन युवराज दीपेन्द्र शाह अघिल्तिर उभिनुपर्ने थियो ।
धरान बजार स्थापनाको शतवार्षिकी महोत्सवका क्रममा १७ वर्षअघि १९ पुस २०५५ मा मैले पहिलो पटक राष्ट्रिय पोशाक लगाएको थिएँ । धरानका तत्कालीन नगरप्रमुख मनोजकुमार मेयाङ्बोले शतवार्षिकी महोत्सवको स्मारिका प्रकाशनको जिम्मेवारी त्यसवेलाका सक्रिय तन्नेरी पत्रकारहरूलाई दिएका थिए । स्मारिका तत्कालीन युवराज दीपेन्द्रसामु विमोचन हुने भएकाले स्मारिका सम्पादकको हैसियतले मैले दौरा–सुरुवाल र टोपी लगाउनु परेको थियो । समारोहको मञ्चमा राष्ट्रिय पोशाक अनिवार्य भएकाले रातारात दौरा–सुरुवाल सिलाउनु परेको थियो ।
स्थानीय मर्निङ पोष्ट दैनिकको कार्यकारी सम्पादकको काम र स्मारिका प्रकाशनको जिम्मेवारीले दिन रात नभनी काम गर्नु परेको थियो । समारोहको अघिल्लो दिनसम्म स्मारिका प्रेसमा छापिंदै थियो, अनि त्यहीवेला दौरा–सुरुवाल र टोपीको जोहो गर्नु परेको थियो । साँच्चै भन्नुपर्दा दौरा–सुरुवाल टोपी त्यसवेलाको मेरो बाध्यता थियो । एक पटकको लागि त लगाउने हो भनेर अरुले दराजमा थन्क्याएको दौरा सुरुवाल पाइएला कि भनेर नखोजेको पनि होइन, तर कतै पाइएन । अनि, दोब्बर ज्याला तिरेर सिलाउनु परयो ।
चारकोशे जंगल फँडानी गरेर बस्ती बस्न शुरु गरेको १०० वर्ष पुगेको अवसरमा आधुनिक शहर धरान सजिएको थियो । ‘धरान दर्पण’ नामक स्मारिकाको आवरणमा ‘धरान’ थापेर आराले काठ चिरिरहेको तस्वीर राखेका थियौं । काठ चिर्ने यही तरीकाबाटै ‘धरान’ को नाम राखिएकाले यो ऐतिहासिक अवसरमा स्मारिकाको महत्व वेग्लै थियो । १९ पुस मध्यान्ह आयोजित भब्य समारोहमा पूरै धरान उर्लिएको थियो । स्थानीय केवल च्यानलहरूले समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।
समारोह शुरु भए लगत्तै स्मारिकाको अनावरण भयो । दौरा–सुरुवाल, टोपी र घाँटीमा रातो गलबन्दी लगाएर ट्रेमा स्मारिका लिएर म मञ्चमा पुगेको थिएँ । मञ्चमा पहिले तत्कालीन स्थानीय विकास मन्त्रीले स्मारिका अनावरण गरे अनि मैले विमोचित स्मारिका युवराज दीपेन्द्रलाई हस्तान्तरण गरें । उनी मुस्कुराए ।
समारोह सकिएपछि दौरा–सुरुवाल र टोपी थन्कियो । तर, फोटो पत्रकार दाइ यात्रा थुलुङले स्मारिका विमोचन गरिरहँदा खिचेको यो तस्वीरले भने त्यो पल कैद गरेको रहेछ । युवराज दीपेन्द्रसमेत मारिएको १९ जेठ २०५८ को राजदरबार हत्याकाण्डपछि मलाई उनको त्यो हँसिलो अनुहार आँखामा आइरहन्थ्यो । अहिले यो तस्वीर हेर्दा पनि दीपेन्द्रको मुहार झलझली आइरहन्छ ।
त्यो दिनपछि आक्कल–झुक्कल ढाका टोपी लगाए पनि दौरा–सुरुवाल लगाउनु परेको छैन । एशिया, यूरोपका धेरै देशहरू र अमेरिका भ्रमणका क्रममा आयोजित कार्यक्रमहरूमा नेपाली पहिरन त लगाउनै पर्छ भनेर मनमा कता–कता दौरा–सुरुवालप्रति मोह नजागेको भने हैन । तर, खै किन हो, नयाँ सिलाउने अवसर जुरेको छैन । आफूले नलगाए पनि अरूले नेपाली पहिरन लगाएको देख्दा आनन्द महसूस हुन्छ । मेरो विचारमा नेपाली हुन दौरा–सुरुवाल र टोपी लगाउनैपर्छ भन्ने छैन । तर शिरमा सगरमाथा मानिने टोपीसहितको पहिरन नेपाली पहिचान हो ।
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा,
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ…
सुरेश अधिकारीको शब्द/संगीत र आस्था राउतको स्वरको यो गीत मलाई एकदमै मन पर्छ । म जस्तो दौरा सुरुवाल र नेपाली टोपी नलगाउने युवा र आम तन्नेरीका मनका कुरा यो गीतले बोले झैं लाग्छ । आखिर नेपाली पहिरन र टोपी नलगाउँदैमा म नेपाली नहुने हैन । तर, राष्ट्रिय पोशाक लगाउनेप्रतिको सम्मान सगरमाथा जत्तिकै उँचो छ र सधैं रहिरहनेछ ।
१७ पुस २०७२, पाटनढोका, ललितपुर