समाचारशनिबार, पौष १८, २०७२

मधेशी मोर्चासँग समझदारी हुने सम्भवानाः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशी मोर्चासँग भोलि समझदारी हुने प्रवल सम्भावना रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा १८ पुसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले हिजो मोर्चासँग औपचारिक, अनौपचारिक वार्ता भएको र बेलुकी महन्थ ठाकुरसँग पनि यस विषयमा छलफल भएको जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाबीच भोलि हुने वार्ताको विषय र प्राप्त निष्कर्षमा आफ्नो पार्टीको सहमति रहेको उल्लेख गर्दै उनले संशोधन प्रस्तावमा समझदारी बन्दै गइरहेको र वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा प्रचलित कानुन वा जे राखे पनि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे ।

दाहालले सीमाङ्कनको विषय जटिल भएकाले यसलाई राजनीतिक वा संसदीय समिति बनाएर तीन महिनाभित्रमा सहमति गर्ने विषयमा मधेशी मोर्चालाई लचिलो हुन आग्रह गरिएको पनि जानकारी दिए ।

चार महिनादेखि मुलुकको जनजीवन कष्टकर बनेको भन्दै दाहालले भूकम्पपीडितका समस्या समाधानका लागि पनि मधेशी मोर्चा अग्रसर हुनपर्ने बताए ।

मधेशी मोर्चाको तर्फबाट नयाँ माग आइरहेको भन्दै उनले यस्ता मागका कारण बन्दै गइरहेको समझदारी बिग्रने सम्भावना सिर्जना हुन सक्ने विषयमा चिन्ता व्यक्त गरेका थिए ।

भारतले आफूलाई संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्र्नुपर्छ वा धर्मनिरपेक्ष राख्नुहुन्न भन्ने विषयमा कहिले पनि सुझाव नदिएको स्पष्ट पार्दै उनले धार्मिक स्वतन्त्रताका साथै प्रलोभनमा पारेर धर्म परिवर्तन रोक्ने सम्बन्धमा सुझाव प्राप्त भएको जानकारी गराए ।

सरकारबाट मन्त्रीहरु फिर्ता गराउने हल्ला गलत रहेको भन्दै उनले भोलि पार्टीको बैठकमा सरकारको कामकाज र मन्त्रीहरुका बारेमा चर्चा हुने बताए ।

सुनसरीको इटहरीमा आज हुने कार्यक्रममा सहभागी हुन दाहाल र पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु विराटनगर आइपुगेका हुन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>