समाचारशनिबार, पौष १८, २०७२
काम धेरै कुरा थोरै गरे राम्रो: नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमाङ्कनका लागि राजनीतिक समिति बनाएर मधेश समस्याको समाधान गरिने बताएका छन् ।
नेकपा एमालेले आज विराटनगरमा आयोजना गर्ने कोसी अञ्चल कार्यकर्ता भेलामा सहभागी हुन आएका नेता नेपालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत मधेशी मोर्चासहितको राजनीतिक सहमतिमा सीमाङ्कनका लागि समिति निर्माण गरेपछि मधेश समस्या समाधान हुने बताएका हुन् ।
उनले आफ्नो देशको समस्या समाधान गर्न कसैको मुख नताक्ने र आफूहरुले नै राजनीतिक सहमति बनाएर समस्या समाधान गर्न लागिपरेको बताए ।
नयाँ संविधान जारी भएपछि उत्पन्न भएको मधेश समस्या अब केही दिनभित्रै समाधान हुने उनको दाबी छ ।
नेता नेपालले वर्तमान सरकारले आफ्नो काम प्रक्रियाअनुसार गरिरहे पनि पर्याप्त नभएकाले धेरै काम गरेर थोरै कुरा गर्नु हितकर हुने सुझाव दिएका थिए ।