समाचारशनिबार, पौष १८, २०७२
संघीय संरचनामा एमाओवादी अभियान
एमाओवादीले संघीय संरचना अनुसार प्रदेश स्तरीय संगठन निर्माण अभियान शुरु गरेको छ ।
जातीयतामा आधारित १३ राज्य समितिलाई भंग गर्दै संविधान अनुसार सात प्रदेशलाई आधार मानेर संगठन निर्माण अभियान शुरु भएको प्रवक्ता दीनानाथ शर्माले बताए । उनका अनुसार पुस मसान्तभित्र सात वटै प्रदेश कमिटीलाई पूर्णता दिइनेछ ।
८ पुसमा सकिएको केन्द्रीय कमिटी बैठकले सम्बन्धीत भूगोलका केन्द्रीय नेताहरु, केन्द्रीय परिषद सदस्यहरु र जिल्ला अध्यक्षहरु प्रदेश कमिटी सदस्य हुने निर्णय गरेको छ । उक्त निर्णय अनुसार एमाओवादीले आजबाट एक नम्बर प्रदेश स्तरीय कार्यक्रम विराटनगरमा शुरु गरेको छ ।
पाँच नम्बर प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य चक्रपाणी खनालका अनुसार सवै प्रदेश प्रमुखहरु कार्यक्षेत्रमा खटिइसकेका छन् । उनले भने, “जिल्ला टुक्रिएका प्रदेशहरुमा केही समस्या देखिएका छन्, समाधानको प्रयत्न भइरहेको छ ।”
३ असोजमा जारी संविधान अनुसार टुक्रिएका जिल्लाहरुमा संगठन निर्माण गर्न अप्ठ्यारो परेको खनालले बताए । संविधानले संघीय आयोगमार्फत टुक्रिएका जिल्लाहरुको सीमाना मिलाउने प्रावधान गरेपनि अहिलेसम्म आयोग बन्न सकेको छैन ।
एमाओवादीले १ नम्बर प्रदेशमा राम कार्की, २ नम्बर प्रदेश विश्वनाथ साह, ३ नम्बर प्रदेश कृष्णबहादुर महरा, ४ नम्बर प्रदेश डिलाराज आचार्य, ५ नम्बर प्रदेश चक्रपाणी खनाल, ६ नम्बर प्रदेश जनार्दन शर्मा र ७ नम्बर प्रदेश लेखराज भट्टलाई जिम्मेवारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
