समाचारसोमबार, पौष २०, २०७२

दुगडका कर्मचारीलाई थुनामा राख्न अदालतको आदेश

तुफान न्यौपाने

कालो बजारी र ठगीको अभियोग लागेका केएल दुगड ग्रुपका दुई कर्मचारीलाई थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश दिपेन्द्रराज अधिकारीको २० पुसको इजलासले दुगडको बिक्री डिपो जडिबुटीका प्रमुख अमन जैन र दुगड ग्रुप अन्तरगतको स्वस्तिक आयल मोरङका प्रबन्धक प्रमोदराज अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अन्य आरोपीहरू स्वस्तिक आयल मोरङका सञ्चालकहरू किसनलाल दुगड, विकास दुगड, दुगड ग्रुप अन्तरगतकै शौरभ आयल मिल बाँके र शौरभ फूड प्रोडक्स बाराका सञ्चालकहरू कुमुदकुमार दुगड र नरेश दुगड फरार छन् । त्यस्तै स्वस्तिक आयल इन्डस्ट्री प्राली मोरङका महाप्रबन्धक चन्द्रिकाप्रसाद कुशवाह र लेखापाल रमाकान्त पारिक तथा शौरभ फुड्स प्रालीका महाप्रबन्धक धर्मचन्द्र दुगड र लेखापाल गौतम दुगड तथा शौरभ आयल मिल बाँकेका महाप्रबन्धक प्रदीपकुमार छाजेन पनि फरार छन् ।

१७ मंसीरमा प्रहरीले दुगड ग्रुपको जडिबुटीस्थित बिक्री डिपोमा छापामारी जैन र अधिकारीलाई प्रक्राउ गरेको थियो । उनीहरुलाई खाने तेलको अत्यधिक मूल्य वृद्धि गरेको तथा उत्पादित तेल र बनस्पति घ्यू अत्यधिक मात्रामा भण्डारण गरी बजारमा नपठाई कालो बजारी गरेको आरोपमा प्रक्राउ गरिएको थियो ।

बिक्री डिपोबाट प्रहरीले एक लाख ३५ हजार ९५० लिटर खाने तेल र ६० हजार केजी बनस्पति घ्यू बरामद गरेको थियो । उक्त बरामद तेल र घ्यूलाई नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङमार्फत बिक्री वितरण गर्न पनि अदालतले आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>