समाचारमंगलबार, पौष २१, २०७२
वीरगञ्जः रोकिराखेको बसमा आगजनी
वीरगञ्जमा बसपार्कमा रोकिराखेको एउटा बसमा २० पुस राति आगजनी भएको छ ।
वीरगञ्ज उपमहानगरपालिका १८ स्थित नेशनल मेडिकल कलेजतर्फ जाने बाटोमा पार्किङ गरेर राखेको ना ४ ख ३६०४ नम्बरको बसमा राति करिब ११ बजे अपरिचित व्यक्तिले आगो लगाइएको प्रहरी उपारीक्षक राजाबाबु श्रेष्ठले जानकारी दिए ।
विमा कम्पनीबाट विमा रकम असुल्नका लागि गाडीधनीकै मिलोमतोमा आगो लगाउने गरेको पनि पाइएको भन्दै प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भने, “गाडीधनी आफैले आगो लगाएको हो वा अन्य कुनै पक्षले हो भन्ने बारेमा अनुसन्धान भैरहेको छ ।”
आन्दोलनकारीले बसमा आगजनी गरेको बताउँदै क्षतिपूर्तिको माग गर्न जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका बसधनी बाबुजान अन्सारीले भने बसमा आगो लागेको आफूले विहानमात्रै थाहा पाएको बताए ।
“रिजर्भमा टाँडी पुगेर फर्केको बस राति पार्किङ गरेर राखेका थियौं, आन्दोलनकारीले त्यही आगजनी गरेछन्,” उनले भने ।
यसैबीच २१ पुस बिहान मधेशी मोर्चाका कार्यकर्ताले एउटा टाटासुमो जीपमा तोडफोड गरेका छन् ।
वीरगन्जबाट यात्रुहरु लिएर काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३९१७ नम्बरको टाटासुमोलाई रोकेर उनीहरुले तोडफोड गरेका हुन् ।
मधेश आन्दोलन शुरु भएदेखि बन्द रहेको वीरगञ्ज–काठमाडौं जीप सेवा केहि दिनदेखि पुनः शुरु भएको छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
