रमझममंगलबार, मंसिर १२, २०६९
मौलिक चलचित्रको खोजी
कार्यशालाको निष्कर्ष सुनाउँदै निर्देशक समाजका अध्यक्ष विमल पौडेलले मौलिक चलचित्र निर्माण नभएको र वजार व्यवस्थापनसमेत गर्न नसक्दा नेपाली चलचित्रमा दर्शकको अभिरुची घटेको बताए । “बास्तविक रुपमा नेपाली मौलिक चलचित्र बनाउन सकेका छैनौँ, उनले भने– अब आत्मसमिक्षा गर्नुपर्छ ।”
बर्षमा झण्डै एक सय चलचित्र निर्माण भए पनि केहीले मात्रै लगानी उठाएको भन्दै पौडेलले दर्शकको मन जित्ने चलचित्र बनाउन नसकेकाले नै चलचित्र उद्योगमा संकट आएको बताए । शहरका कोलाहलमा भन्दा ग्रामिण भेगमा फिल्मको कथा खोज्न सके नेपाली मौलिकता झल्कने भन्दै विदेशी चलचित्रको नक्कल गर्ने परम्परालाई तोड्न गोष्ठीले उत्प्रेरणा दिएको निर्देशकहरुले बताएका छन् ।
यसैबीच कार्यशालामा निर्माण गरिएका सामाजिक, साँस्कृतिक एवं जातीय मुद्दा उठाएका ७ वटा छोटा चलचित्रहरु एक समारोहकाबीच वेसिशहरमा प्रदर्शन गरिएको छ । प्रदर्शित चलचित्रमध्ये पशुपति समूहले निमार्ण गरेको ‘मनसरी’ चलचित्र पुरस्कृत भयो ।
चलचित्र निर्देशक, लेखक, कलाकार, छाँयाकार, निर्माता, समिक्षक र पत्रकारहरु सहभागी कार्यशालामा प्रशिक्षक राजेन्द्र शलभले जातीय तथा साँस्कृतिक विविधतालाई फिल्ममा उतार्नका लागि कार्यशाला सफल भएको प्रतिक्रिया दिए । मौलिक चलचित्र निर्माण, संस्कृति तथा समाजको विकास र चलचित्र मार्फत पर्यटनको विकास गर्ने उदेश्यकले कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीले आगामी कार्यशाला दाङमा गर्ने निर्णय गरेको छ । युवराज श्रेष्ठ, लमजुङ