समाचारबुधबार, पौष २२, २०७२

धर्ना बसेका र भारतीय नागरिकबीच झडप, ८ जना घाइते (अपडेट)

हिमालखबर

वीरगञ्ज–रक्सौल सीमा नाकामा धर्ना बसेका मधेशकेन्द्रित दलका कार्यकर्ता र भारत, रक्सौलको अहिरवाटोलका वासिन्दाबीच २२ पुसमा झडप भएको छ । झडपमा आन्दोलनकारी तर्फ ५ जना र सामान ओसार्नेहरु ३ जना गरी ८ जना घाईते भएका छन् ।

andolankariघाईते हुने मधेशकेन्द्रित दलका कार्यकर्ताहरुमा वीरगन्ज–१३ अशोक बाटिकाका २४ वर्षीय चुनु मिश्रा, वीरगन्ज– १४ रानीघाटका २२ सर्फुदिन अन्सारी, छप्कैया–३ बस्ने ३५ बर्षीय कृष्णा पटेल, वीरगञ्ज १९ ईनर्वाका २८ बर्षका भागीरथ साह, वीरगञ्ज–२९ सिर्सियाका २८ वर्षका विनय सर्राफ रहेका छन् ।

उनीहरु सबै सामान्य घाईते रहेको र उपचार पछि घर फर्केको नारायणी उपक्षेत्रिय अस्पताल स्थित प्रहरी बीटले जनाएको छ ।

घाईते भारतीयहरुको नाम खुल्न सकेको छैन् । उनीहरु भारत र नेपालका व्यापारीहरुका सामान ओसार्ने भारतीय नागरिकहरु हुन् । मधेशी मोर्चाको धर्नासँगै भारतले पनि नाकाबन्दी गरेपछि सामान ओसार्न व्यवसायीहरुले बिचौलीयाको उपयोग गर्न थालेका छन् ।

बिहान करिब साढे दश बजे सीमापरिबाट करिब १ सयको संख्यामा साईकल र पैदल समान बोकेर आएका समान ओसार्नेहरु र धर्नामा बसेकाहरुबीच झडप भएको थियो ।

समान ओसार्न नदिएका कारण आक्रोशित बनेका भारतीय नागरिकले आक्रमण शुरू गरेको संघीय समावेसी मधेशी गठबन्धनका नेता राजकुमार यादवले बताए ।

2भारतीयले धर्नाकारीमाथि ईट्टा, ढुङ्गा र पेट्रोल बम समेत प्रहार गरेका छन् । दुबै पक्षबीच ढुंगा हानाहान भएपछि मितेरी पुलको पूर्वपट्टीको क्षेत्र आधा घण्टाजति तनावग्रस्त बनेको थियो ।

धर्नाकारीले भारतबाट सामान ल्याउने तस्करहरुसँग झडप भएको बताए पनि उनीहरु तस्कर नभई नाकाबन्दी र धर्नाकाबीच भारतबाट व्यापारीका सामान बोकर भन्सार कार्यालयसम्म पु¥यादिने हरु हुन् ।

भारतीय नाकाबन्दी र धर्नाकाबीच मितेरी पुलको बाटो हुँदै ट्रक आउन संभव नभएपछि त्यस्तो सामान निश्चित शुल्क लिई बोकेर नेपालसम्म ल्याइदिन रक्सौलका नागरिकहरु सक्रिय छन् । उनीहरुले सामान ओसार्दा कुनै नोक्सान भए त्यसको समेत क्षतिपूर्ति तिर्नुपर्ने गरी ठेक्का लिएका हुन्छन् ।

मोर्चाद्वारा २९ वटा टेम्पामा तोडफोड
भारतीय नागरिकहरुको समूहसँग झडपपछि नाकामा जम्मा भएका मधेशकेन्द्रित दलका कार्यकर्ताहरुले शंकराचार्य द्वारदेखि अल पर अहिरवा टोल जाने बाटो नजिकै रोकिएका २९ वटा टेम्पोमा तोडफोड  गरेका छन् ।

टेम्पो चालक रक्सौलका मुन्ना पटेलले दलका कार्यकर्ताहरुले टेम्पोको हेन्डल भाँचिदिएको र अगाडिको शिशा फोडिदिएको बताए । “हामीले सँधै यहीँ पार्किङ गरेर राख्ने गरेका थियौं । घण्टाघरमा भन्दा यता सुरक्षित थियो । आज एक्कासी आएर फोडिदिए ।”

यसैबीच वीरगञ्ज बजार भने दिउँसो दुई बजेबाट खुलेको छ । संघीय समावेशी मधेसी गठबन्धन र स्थानीय व्यापारीबीच भएको सहमति अनुसार बजार दिउँसो दुई बजेपछि मात्रै खुल्ने गरेको हो ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>