टिप्पणीबुधबार, पौष २२, २०७२
‘आवारा हुँ’
पर्याप्त शंकाको लाभ पाएका प्रधानमन्त्री केपी ओलीले सत्ताको सय दिन गफ र खिसीटिउरी गरेरै सिध्याए।
जब कुनै राजनीतिज्ञ सरकारमा पुग्छ ऊ सबैभन्दा पहिले पूर्ववर्तीहरूले बिर्सिसकेका वाचा दोहोर्याउँछ। सुशासनको वाचा, राहतको प्रतिज्ञा गर्छ। तर जनताले न सुशासन न त राहत नै पाउँछन्।
सरकार फेरिएको आभास सरकारी संयन्त्रले मात्र गर्छ। सरकार फेरिएसँगै राज्यसंयन्त्रका मूली फेरिन्छन्। पार्टीका झ्ण्डावाला र वफादारले नियुक्ति उछिट्याउँछन्। नेतानिकट कर्मचारी लाभका पदमा तानिन्छन्, बाँकी अरू जगेडामा मिल्काइन्छन्।
नयाँ सरकार, नयाँ जोश, जुझारुपन र संकल्पको समिश्रण हुनुपर्नेमा ती फगत अवसरवादीको झुण्ड मात्र बन्न पुग्छन्।
सरकार फेरिनु नियमित आकस्मिकता जस्तो भए तापनि इतिहासमा केही यस्ता घुम्ती आउँछन्, जसको नेतृत्व गर्नेबाट केही बढी नै आशा गरिन्छ। केपी शर्मा ओली यस्तै एक पात्र थिए।
संविधानसभाबाट संविधान जारी भएसँगै पदभार ग्रहण गरेका ओलीबाट गरिएको आशा नाजायज पनि थिएन। नाकाबन्दी र सत्तारोहणमा छेकबार लगाउने भारतको भगीरथ प्रयत्नका बाबजूद ओली अत्यन्तै विषम परिस्थितिमा मुलुकको कार्यकारी प्रमुख बनेका थिए।
त्यसैले उनलाई शंकाको सुविधा प्राप्त थियो। तर, सत्तारोहणको सय दिन अर्थात् मधुमास सकिंदासम्म पनि ओली राहत र सुशासनका गफमै व्यस्त छन्। सिन्को भाँचेका छैनन्। गफ र खिसीटिउरीले देश बन्दैन। देश बनाउनेसँग अक्कल, अठोट र योग्यको टोली हुनुपर्छ।
राजनीतिक आवरणमा छिपेका अपराधीका संरक्षकका रूपमा हिजो ओलीको आलोचना हुन्थ्यो। आज उनी टहरामा कहर काटिरहेका भूकम्पपीडितका अभिभावकभन्दा राष्ट्रिय संकटमा च्याखे थाप्ने कालोबजारियाका अभयदाता जस्ता देखिएका छन्।
राजनीतिज्ञको क्षमता शैक्षिक योग्यताबाट मापन गरिने होइन, तर शैक्षिक वा प्राज्ञिक हैसियत योग्यताको एउटा अवयव भने पक्कै हो। प्रधानमन्त्रीलाई शैक्षिक योग्यतासँग ठूलै वितृष्णा हुनुपर्छ शायद, उनी योग्यतामा होइन, वफादारमै सुयोग्य देखिरहेका छन्।
एउटा पुस्तक विमोचन समारोहमा उनले आफ्नो ट्रेडमार्क बोलीमै भने, ‘बुद्धले पीएचडी गरेका थिएनन्।’ ठीक हो, बुद्धसँग औपचारिक डिग्री थिएन। तर, उनले जुन प्रवृत्तिको पक्षपोषण गरिरहेका थिए, तिनले न बुद्धले झैं महाभिनिष्क्रमण गरेका थिए, न निर्वाण।
‘जनयुद्ध’ को नाममा निर्बोध नागरिकलाई बलिवेदीमा चढाउन हिजो माओवादी बुर्जुवा शिक्षा चाहिंदैन भन्थे, आज तिनै छोराछोरीलाई मुलुकका महँगा स्कूलमा पढाइरहेका छन्। बुर्जुवा शिक्षा बहिष्कार गर्नेहरू चाहिं अयोग्यको बिल्ला भिरेर शिविरबाट बाहिरिइसकेका, कि खाडीको कुनै निर्जन मरुभूमिमा भेडा चराइरहेका छन्।
जुन राष्ट्रमा योग्यताको मापन नेता परिक्रमाबाट गरिन्छ, त्यो देशले कहिल्यै भड्खालोबाट मुक्ति पाउँदैन। नेपालमा योग्यहरूको कमी थिएन र छैन पनि। तर, योग्यहरू आफ्नो स्वाभिमान नेताको पाउमा चढाउँदैनन्।
प्राध्यापक केदारभक्त माथेमा नयाँ नेपालमा योग्यहरूको सीमान्तीकरणलाई अत्यन्त मार्मिक बिम्बमा व्याख्या गर्छन्। उनका अनुसार, सुयोग्य मानिसहरू आज चोक, सडक र चौबाटोमा हिन्दी चलचित्र ‘आवारा’ का राज कपूर झैं ‘आवारा हुँ, या गर्दिशमे हुँ, आसमानका तारा हुँ, आवारा हुँ’ गीत गाउँदै भौंतारिरहेका छन्। हुन पनि ‘मेडियोकर’ हरूको शासनमा योग्य हुनु नै ठूलो अयोग्यता हो। एक उदाहरण त स्वयं प्राध्यापक माथेमा नै हुन्।
इतिहासका प्राध्यापक सुरेन्द्र केसीले कुनै टेलिभिजनमा भनेका थिए, “आज नेपालमा नियुक्तिका तीन आधार छन्– नाता, पैसा र व्यभिचार।” उनको ‘मिलियन डलर’ बराबरको यो भनाइबाट वर्तमान नेपालको दिशा, दशा र दुर्दशा बुझ्न सकिन्थ्यो।