समाचारबिहीबार, पौष २३, २०७२

तीन दल र मोर्चा कार्यदल बैठक सकियो, सीमा‌ंकन विवाद समिति मार्फत टुंग्याउने बारे छलफल

हिमालखबर

tripathiतराईमा जारी समस्या समाधानका लागि तीन प्रमुख दल र मधेशी मोर्चाको कार्यदलबीच भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको वार्ताका सहभागी नेताले बताएका छन् ।

आज, २३ पुसमा सिंहदरबारमा बसेको कार्यदलको बैठकमा मधेशी मोर्चाले उठाएको ११ बुँदे मागमा वार्ता औपचारिक रुपमा प्रवेश गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले बताए ।

उनले भने, “११ बुँदेमा बुँदागत छलफल शुरु भएको छ, वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।”

उनले प्रदेशहरुको सिमांकन संशोधनका लागि राजनीतिक समिति बनाउने बारे समेत छलफल शुरु भएको भन्दै थपे, “त्यस्तो समितिको बैधानिकता, क्षेत्राधिकार र विश्वसनियता बारेमा समेत छलफल अगाडि बढेको छ ।”

प्रमुख तीन दलबीच आपसमै छलफल नपुगेको आरोप लगाउँदै त्रिपाठीले भने, “उहाँहरुले छलफलमा खुलेर बोल्न अलि अप्ठ्यारो मान्दै पार्टीभित्र छलफल गर्नुपर्छ भन्नुभयो, यो स्वभाविक पनि हो ।”

वार्तामा सहभागी नेपाली कांग्रेसका नेता महेश आचार्यले वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै आज साँझ फेरि अर्को चरणको वार्ता हुनसक्ने बताए ।  “अन्तिम निष्कर्षमा पुगिसकेक छैनौं, सिमांकनका लागि राजनीतिक समिती बनाएर मात्रै पुग्दैन तेस्ले के आधारमा काम गर्द्छ भन्ने कुरा पनि निर्क्यौल गर्ने प्रयत्न गरेका छौ,” उनले भने, “आजै साझ फेरि बस्छौं, समय र स्थानको टुगो भएको छैन ।”

सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव र मोर्चाको मागमा सहमति जुटाउनका लागि तीन दल र मधेशी मोर्चाले कार्यदल बनाई वार्ता शुरु गरेका हुन् । कार्यदलले तयार पारेको साझा प्रस्तावमा शीर्ष नेताहरुले छलफल गरी सहमति जुटाएपछि संविधान संशोधन गर्ने तयारी छ ।
कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>