समाचारशुक्रबार, पौष २४, २०७२
शरणार्थी सञ्चारकर्मी
टुकुटुकु हिंड्ने उमेरमा शरणार्थी बनेर पूर्वी नेपाल आइपुगेका तिलक निरौला (२४) अहिले अमेरिकी टेलिभिजनसम्म पुगेका छन्।
सन् १९८९ मा दक्षिण भूटानको सर्भाङ जिल्लाबाट खेदिएर परिवारसहित पूर्वी नेपालको झापा आइपुग्दा तिलक निरौला तीन वर्षका थिए। आधा पेट खाएर गोलधाप शरणार्थी शिविरको छाप्रोमा हुर्किएका तिलक खालीखुट्टै विद्यालय जान्थे। जाडोमा न्यानो कपडा टाढाको कुरा थियो।
शिविरको विद्यालयमा उनी हाजिरीजवाफ, कविता प्रतियोगितामा नियमित भाग लिन्थे। रेडियो सुन्थे। बाल क्लबमा पनि आबद्ध थिए। साथीहरुसँग मिलेर भित्ते पत्रिका पनि निकाल्थे।
उच्चमावि सिध्याएपछि तिलकले शिविरको त्यही विद्यालयमा पढाए, जहाँ उनी पढेका थिए। शरणार्थी शिविरका लागि पत्रिका निकाल्थे। शिविरमै बसी–बसी उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारमा स्नातक पनि गरे।
उनी शिविरमै शरणार्थीसम्बन्धी रेडियो कार्यक्रममा रिपोर्टिङ पनि गर्दथे। रिफ्युजी हेराल्ड मासिक पत्रिकाको सम्पादन पनि गर्थे। भूटान समाचार सेवाको समाचार संयोजक पनि तिलक आफैं हुन्।

अमेरिकी नेतृ हिलारी क्लिन्टनका साथ।
तेस्रो देश पुनर्वासका क्रममा २००९ देखि परिवारसहित तिलक बेलडाँगी शिविर आए। जून, २०१३ मा उनी अमेरिका पुगे। अहिले तिलक न्यू ह्याम्पसायरस्थित कन्कर्ड टेलिभिजन च्यानल २२ मा भूटानी शरणार्थी लक्षित ‘हाम्रो आवाज’ कार्यक्रमका सञ्चालक बनेका छन्।
प्रत्येक साता शनिबार बिहान साढे सात बजे प्रसारण हुने यो कार्यक्रममा तिलकले अमेरिकामा रहेका भूटानीसँगै नेपाली समुदाय र उनीहरुबारे बुझेका अमेरिकीलाई समेत अतिथिका रुपमा निम्त्याउँछन्। अन्तरसंवाद गर्छन्।
टेलिभिजन कार्यक्रम उत्पादनकै सिलसिलामा अमेरिकाका दर्जनभन्दा बढी राज्य भ्रमण गरिसकेका तिलकले २ अक्टोबर २०१५ मा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग समेत भेट्ने मौका पाए।
छोटो कुराकानीमा उनले भूटानी शरणार्थीबारे चासो दिन अनुरोध गर्न भ्याए। भन्छन्, “थोरै भए पनि आफ्नो समुदायको कुरा बुझाउन पाएकोमा सन्तोष लागेको छ।”
शरणार्थी तिलकलाई भूटानको कुनै सम्झना छैन। सम्झना छ त केवल गोलधाप शिविरको धूले आँगनमा खेलिरहेको। “हिंड्दा हिंड्दै यहाँसम्म आइपुगियो”, तिलक भन्छन्, “हेरौं कहाँसम्म पुगिन्छ।”
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
