थप समाचारशुक्रबार, पौष २४, २०७२
चले दलितका होटल
होटल, रेस्टुरेन्ट खोल्ने दलितको होस्टेमा गैरदलित ग्राहकले हैंसे थपेका छन्।

राधिका ठटाल र उनकी छोरी अनु। तस्वीरहरुः गोपाल गडतौला
कमाउन खाडी गएका श्रीमान् नरबहादुर ठटाल घाइते भएर फर्किएका थिए। नौ जनाको परिवारमा कुनै कमाउ मेलो थिएन। १५ वर्षअघिको त्यो बाध्यात्मक अवस्थामा राधिका ठटाल (५०) ले होटल खोलेकी थिइन्।
रु.५ हजार जोरजाम गरेर खोलेको होटलमा कथित उच्च जातिका ग्राहक नआएर डुबिने जोखिम पनि छँदैथियो। त्यसो त, उनले नेपाली समाजको परिवर्तनको मन्द वेग ठम्याएरै त्यो आँट गरेकी थिइन्।
राधिकाकी छोरी अनु (२६) भन्छिन्, “एक जना थापा अंकलले नियमित खाना खान्छु भनेपछि आमाको आँट बढेको थियो।”
नभन्दै, सफासुग्घर होटलमा ग्राहकको खाँचो भएन। झापा लखनपुर–१ मंगलबारेमा खुलेको ठटालको होटलमा बिहान चिया खाजा, दिउँसो चाउमिन―थुक्पा, साँझ् खाना खाने र पिउनेहरूको बिल्कुलै कमी भएन। दैनिक कम्तीमा १५ जना खाना खाने ग्राहक टुटेका छैनन्।

आफ्नो होटलमा गीता रम्तेल ।
अनुसहित तीन जना छोराछोरीको उच्च शिक्षा यही होटलले मजाले अगाडि बढाएको छ। होटलको हिसाब हेर्ने अनु सबै खर्च कटाएर दैनिक कम्तीमा रु.१५ सय नाफा बस्ने बताउँछिन्।
दक्षिणी इलामको चुलाचुली गाविस कार्यालय हातामा चार वर्षअघि चमेना गृह खोल्ने आँट गरेकी सविना बिक (२६) अहिले मजाले गुजारा चलाइरहेकी छन्।
गाविस सचिव रमेश कोइराला खानाका नियमित ग्राहक हुन् भने प्रशासनिक काम लिएर दैनिक गाविस आउने गाउँले चिया, चना–चिउरादेखि चाउमिन–थुक्पासम्मको खान्कीका। गाविसमा गोष्ठी–कार्यक्रम हुने दिन सविना विशेष आम्दानीको तयारी गर्छिन्।
“शनिबार खासै नचले पनि त्यस्ता दिनमा धेरै ग्राहक हुन्छन्”, आठ कक्षासम्म पढेकी सविना भन्छिन्, “कार्यालय चलेको सामान्य दिनमा दुई हजारभन्दा बढी आम्दानी भएर त्यसको २५ प्रतिशत नाफा बस्छ।”
नेपालमा सर्वप्रथम २०२० सालको मुलुकी ऐनले दलितका नाममा हुने कुनै पनि प्रकारका छुवाछूतलाई गैरकानूनी घोषित गरेको थियो। त्यसको ५० वर्षपछि पनि कानूनमा लगाइएको प्रतिबन्ध व्यवहारमा लागू भइसकेको छैन।

सविना बिक ।
तर, दलितले छोएको पानी बार्ने कथित उपल्लो जातिको कुसंस्कारकै बीच दलितको भान्साका परिकार खाने पुस्ता पनि निर्माण भइरहेको छ। झापामा मजाले चलिरहेका दलितका होटलले छोइछिटो नबारिनुको संकेत गरेको छ।
रु.३ लाखको लगानीमा २०६७ सालमा दमक–१० स्थित आम्दा अस्पताल गेटमा इलामेली होटल खोलेकी गीता रम्तेल (३१) अहिले दैनिक सरदर रु.१० हजारको कारोबार गर्छिन्। दिनहुँ १०० जनाले खाना खाने यो होटल चिया, खाजाका लागि पनि उत्तिकै चलेको छ। मासिक रु.२० हजार त होटल भाडा बुझाइरहेकी छिन्।
सफा खान्की र राम्रो व्यवहार नै होटल चलाउने सूत्र हो भन्ने बुझेकी उनको होटलमा वरिपरिका कथित उच्चजातका होटलमा पाइने जाँडरक्सी भने पाइँदैन।
कतिपय ग्राहक भने खाना खाइसकेपछि ‘बाहुनी जस्तै देखिनुहुन्छ, के थरीको होटल हो?’ भनी सोध्छन्। हँसिली गीता थर भन्न धक मान्दिनन्।
छुवाछूतका विषयमा समाज बदलिंदै गएको बताउने गीता यतिवेला ८५१ वटा होटल सदस्य रहेको जिल्लाको होटल व्यवसायी संघमा होटल दर्ता गर्ने प्रक्रियामा छिन्। “जिल्लामै पहिलो दलित होटल दर्ता गर्ने प्रक्रियामा छु”, व्यवस्थापनमा स्नातक गीता भन्छिन्।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
