समाचारशुक्रबार, पौष २४, २०७२
राष्ट्र सङ्घबाट सबै किसिमको सहयोग चाहन्छौं: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समग्र विकासका लागि संयुक्त राष्ट्र सङ्घबाट नेपालले नैतिक–भौतिकलगायत सबै किसिमका सहयोगको अपेक्षा गरेको बताएका छन् ।
राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज प्रधानमन्त्री निवासमा भएको भेटमा उनले सङ्कटको वर्तमान अवस्थाबाट नेपाललाई पार लगाउन नेपालले हरतरहको सहयोगको अपेक्षा गरेको बताए ।
“नेपालले झेल्नुपरेको मानवीय सङ्कटका बेला संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त नैतिक समर्थन र सहयोगप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो,”– भेटपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए ।
उपमहासचिव फेल्टम्यानले जारी सङ्कटबारे राखेको जिज्ञासाको प्रत्युत्तरमा प्रधानमन्त्रीले असल मनशायका साथ आन्दोलनरत सबै पक्षसँग वार्ता भइरहेकाले संविधान संशोधनसँगै विद्यमान असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको सल्लाहकार रिमालले बताए ।
भेटमा सल्लाहकार रिमाल, प्रधानमन्त्री कार्यालयका परराष्ट्रविज्ञ गोपाल खनाल, परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र राष्ट्रसङ्घीय कार्यालयका कावा प्रमुख क्रेग सान्ड्रेर्सलगायत सहभागी थिए ।
रासस