समाचारशनिबार, पौष २५, २०७२

कतै हिमपात, कतै असिना पानी

हिमालखबर

एक्कासि मौसममा आएको परिवर्तनसँगै देशका हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ ।

हिमापातले रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाको जनजीवन बढी कष्टकर भएको छ । भूकम्पबाट ठूलो क्षति पुगेको लाङटाङमा स्थानीयवासीले जस्ताको टहरो समेत बनाउन भ्याएका छैनन् ।

त्यस्तै चन्दनबारी, ठूलो स्याफ्रु, थुमन, नाकथली, तातोपानी, सिम्बु र गत्लाङ क्षेत्रमा पनि हिमपात भएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ३०० मिभन्दा माथिका क्षेत्रमा हिमपात हुँदा चौपायासमेत कठ्याङ्ग्रिएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।

दार्चुला
दार्चुलामा पनि वर्षासँगै हिजो शुक्रबारदेखि उच्च हिमाली भेगमा हिमपात शुरु भएको छ ।

अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेकमा समेत हिउँ जमेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार खण्डेश्वरी, घुसा, राप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत जिल्लाका उत्तरी गाविसका उच्च भेगमा हिउँ जमेको सूचना आएको छ ।

वर्षा र हिउँसँगै सदरमुकामलगायत अन्य क्षेत्रमा चिसो बढेको छ ।
“मङ्सिरमा पनि हिउँ डाँडामा जम्ने गरेको थियो ।” स्थानीय कल्याणसिंह बोहराले भने, “अहिले त बस्तीमा समेत हिउँ पर्‍यो ।” मौसममा एक्कासि परिवर्तन आउँदा जनजीवन प्रभावित भएको छ ।

लाप्राक र बारपाकमा असिना पानीपछि हिमपात

गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ ।

बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ ।

“असिना पानी परेपछि अत्यधिक चिसो बढेको छ । बाहिर निस्कन सकेका छैनौँ” बारपाक–४ का तेजबहादुर घलेले भने, “अगेनाको छेउमा आगो तापेर बसेका छौँ ।” जस्तापाताले छाएको टहरोमा बसेका र त्रिपाल, टेन्टमुनि बसोबास गर्दै आएकालाई पानीले रुझाएको छ ।

बारपाकमा एक हजार ३७२ घरधुरीमध्ये स्नान गाउँका ३० घरधुरी अझै त्रिपालमुनि छन् ।

“हिउँ पर्न थालेपछि चिसो अलि कम भएजस्तो भएको छ” घलेले भन्नुभयो, “गाउँ नजिकै डाँडामा बाक्लो हिउँ परेको देखिन्छ ।” बारपाक, लाप्राकको गुप्सीपाखा र घ्याच्चोकको धन्सिरा गाउँमा हिमपात भएको हो । गाउँ नजिकैको डाँडामा बाक्लो हिउँ परे पनि गाउँमा हल्का हिउँ झरेको लाप्राककी सुनिता गुरुङले जानकारी दिइन् ।

“टहरामा बसेका भूकम्पपीडितको विचल्ली भयो” उनले भनिन्, “बख्खु, पछ्यौरा ओढ्ने र आगो तापेर भूकम्पपीडित बसिरहेका छन् ।”

पानी र हिमपात नभएका बेला पनि स्याठँले गर्दा गुप्सीपाखामा बस्न सकिँदैन । गुप्सीपाखा दुई हजार ७०० मिटर उचाइमा पर्छ । गुप्सीमा ५९५ वटा टहरा छन् । चिसोले गर्दा वृद्धवृद्धा र बालबालिका समस्यामा छन् ।

गुम्दाको माथिल्लो क्षेत्र, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारका उपल्लो भेगमा पनि हिमपात भएको बताइएको छ । यस वर्ष हिमपात ढिला हुँदा आलुखेती गरिएका बारीमा धुलो उडेको थियो ।

आवश्यक चिस्यान नहुँदा आलु उम्रेको थिएन । डाडाँमा परेको हिउँ बारीसम्म नझरेसम्म खेती राम्रो नहुने स्थानीय बताउँछन् ।

मनाङ्

हिमालपारीको जिल्ला मनाङमा पनि फेरि हिमपात शुरु भएको छ ।

माथिल्लो मनाङको ७ गाविससहित सदरमुकाम चामे वरपर र नार साथै फू गाविसमा हिजोदेखि हिमपात शुरु भएको हो ।

स्थानीय छिरिङ लोप्साङ गुरुङले हिउँ पर्न थालेपछि चिसो बढेको र मानिस बाहिर निस्कन नसकेको बताए ।

हिंजो दिउँसोदेखिको हिमपातले पर्यटकहरु अघि बढ्न सकेका छैनन् । थोराङ्लामा पनि हिमपात भइरहेकोले पर्यटकले उक्त भञ्ज्याङ चढ्न नसक्ने अवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>