समाचारशनिबार, पौष २५, २०७२
सभापति कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज, २५ पुसमा आफ्नै निवास महाराजगन्जमा भएको भेटमा कोइरालाले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताए ।
“अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान गर्न संसद्मा पहिलो दलका हैसियतले कांग्रेसले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ, अब छिट्टै समाधान निस्कन्छ”–भेटपछि सभापति कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए ।
सभापति कोइरालाले समस्या समाधान गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी उपमहासचिव फेल्टम्यानलाई गराएको भट्टराईले जानकारी दिए ।
सो अवसरमा उपमहासचिव फेल्टम्यानले मानवीय सङ्कट अन्त्य होस् भन्ने धारणा राखेका थिए । उनले विश्वमा शान्ति, समृद्धि र सुरक्षामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सल्लाहकार डा भट्टराईले बताए ।
दुबै बीचमा करिब एक घण्टा कुराकानी भएको सभापति कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
