मधेशी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई यथावतै राख्दै थप कार्यक्रमको घोषण गरेको छ ।
मोर्चाको २२ देखि २४ पुससम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा संविधान संशोधनका लागि सरकारले संसद्ंमा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको खाँचो औँल्याएको छ ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई आवश्यक रुपमा परिमार्जन वा परिवर्तन नगरी यथावत् रुपमा पारित गराइए आन्दोलनरत पक्षले उठाएको माग सम्बोधन हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “विधेयक यथावत् रुपमा अघि बढाइएको खण्डमा यसले मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलितलायत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न नसक्ने भएकाले यो संशोधन विधेयक मोर्चालाई मान्य हुन सक्दैन ।”
सरकारले तराईमा उठेको आन्दोलनका मागलाई सम्बोधन गर्न कम्तीमा पनि एक जिल्लालाई एक निर्वाचन क्षेत्र कायम गरी बाँकी जिल्लामा जनसङ्ख्यालाई प्राथमिकता दिएर निर्वाचन क्षेत्र निर्धारण गर्ने तथा राज्यका अङ्गमा समानुपातिक समावेशी चरित्र निर्माण गर्ने गरी संविधान संशोधन विधेयक सदनमा पेस गरेको छ ।
आन्दोलनका मागलाई सम्बोधन गर्नाको सट्टा सरकार त्यसलाई दबाउन उद्यत रहेको जनाउँदै मोर्चाले थप कार्यक्रम पनि सार्वजनि गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
प्रेस विज्ञप्ति
२०७२ पौष २२, २३ र २४ गते काठमाडौंमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सर्वसम्मतिबाट निम्नानुसारका निर्णयहरु गरेको छ,
१. संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, प्रदेशिक स्वायत्तता र स्वशासन, समानुपातिक समावेशिकरण, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण एवं समानुपातिक प्रतिनिधित्वि, असमावेशिता र विभेदको अन्त्य, नागरिकता एवं समान भाषिक अधिकार, न्यायपालिकाको संघीय ढाँचा प्राप्तिका साथै मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुश्लिम, महिला, उत्पीडित खस तथा सीमान्तकृत एवं अल्पसंख्यक समुदायहरुले उठाएका मुद्दाहरुलाई सम्बोधन गराउनका लागि करिब पाँच महिनादेखि मधेशी जनताको संघर्ष जारी छ । तर, आन्दोलनरत पक्षको राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा आन्दोलनकारीका विरुद्ध झूठा मुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने र राज्य आतंक सृजना गर्दै बर्वरतापूर्ण दमन, हिंसा, हत्या गरी ५८ जनाले शहादत प्राप्त गरिसकेको अवस्थामा पनि आमहडताल, शान्तिपूर्ण प्रदर्शन, धर्ना, जनअवज्ञा अर्थात् असहयोग आन्दोलन लगायत विरोधका कार्यक्रमहरु जारी नै छन् । तर, राज्य संचालकहरुको नश्लवादी चिन्तन र एकल जातीयतामा आधारित अन्धराष्ट्रवादी मानसिकतामा कुनै परिवर्तन आएको छैन । सरकारको नेतृत्वमा रहेकाहरुबाट मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित लगायत सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम अझै पनि रोकिएको छैन । अहिलेसम्म औपचारिक वा अनौपचारिक रुपमा करिब २५ भन्दा बढी पटक वार्ता गरेपनि सरकार गम्भीर देखिएन । वार्ता र संवादबाट मधेशी, आदिवासी जनजाति, थारू, मुश्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुका मुद्दाहरुको सम्बोधनप्रति स्पष्ट दृष्टिकोणको अभावले गर्दा नै वार्ता परिणाममुखी हुन नसकेको हाम्रो ठहर रहेको छ ।
२. देशका बहुसंख्यक जनताद्वारा अस्वीकृत भएको असमावेशी, विभेदकारी तथा जनविरोधी संविधान जनचाहना अनुरुप सबै मुद्दाहरु समेटी पुनर्लेखन्÷परिवर्तन तथा परिमार्जन गर्नु पर्नेमा जनतालाई भ्रमित पार्न नेपाली कांग्रेस र सरकारले संयुक्त रुपमा संसदमा संविधान संशोधन सम्बन्धी विधेयक ल्याएको छ । यस विधेयकले विगतमा प्रयोग भइसकेको समानुपातिक समावेशीकरणको मान्यतालाई बिकृत बनाई एकात्मक राज्यको चरित्रलाई नै निरन्तरता दिने षड्यन्त्र गरेको छ । उक्त विधेयकलाई आवश्यक रुपमा परिमार्जन वा परिवर्तन नगरी यथावत रुपमा पारित गराइए, यसले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम, दलित लगायतका समुदायहरुले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएकोले यो संशोधन विधेयक मोर्चालाई मान्य हुन सक्दैन ।
३. आन्दोलनलाई समर्थन गरेको बहानामा मधेशका संचारमाध्यम र सरकारी कर्मचारीहरुमाथि कार्यबाहीको प्रक्रिया चलाई दमन गर्ने कार्यप्रति मोर्चा घोर निन्दा गर्दै यस्ता कार्य अविलम्ब रोक्न समेत माग गर्दछ ।
४. आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको परिचालन गरी मधेश र थरुहटमा राज्य आतंकको सृजना गर्ने कार्य जारी राखी राखेकोमा त्यसको घोर भत्र्सना गर्दै जनताको बढ्दै गएको कष्टकर जीवन र विभिन्न कठिनाइका बावजूद विभेदबाट उन्मुक्तिको लागी संघर्षको विकल्प नभएकोले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त जनसंघर्षको रुपमा अगाडि बढाउन शान्तिपूर्ण संघर्षका निम्नानुसारको कार्यक्रम सार्वजनिक गर्दछौं तथा मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित, उत्पीडित खस, सीमान्तकृत समुदाय लगायत सम्पूर्ण आन्दोलनकारी दाजुभाई दिदीबहिनी तथा आम नागरिकलाई जारी आन्दोलनमा पूर्ववत् सक्रिय सहभागिता तथा समर्थन गर्न अपील गर्दछौं ।
आन्दोलनका कार्यक्रमहरु –
क. २०७२ पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलूस प्रदर्शन एवं विरोध
सभा गर्ने,
ख. २०७२ पौष ३० गते बिहिबार जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा
सरकारद्धारा गरिएका हिंसा हत्या एवं दमन सम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रर्दशन गर्ने,
ग. २०७२ माघ २ गते शनिबार जिल्ला सदरमुकाममा विरोध स्वरुप विशाल लाठी जुलूस प्रदर्शन एवं
सभा गर्ने,
घ. २०७२ माघ ४ गते सोमबार जिल्ला सदरमुकाममा भेला भई विशाल मशाल जुलूस प्रदर्शन एवं सभा गर्ने,
ङ. २०७२ माघ ५ गते मंगलबार जिल्ला सदरमुकामहरुमा मधेश आन्दोलनका दौरानमा शहादत प्राप्त
गर्नुहुने वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न भव्य रुपमा बलिदानी दिवस मनाउने,
च. २०७२ माघ ७ गते गाउँ÷नगर÷क्षेत्रहरुको चोक चौराहामा विरोध सभा गर्ने,
४. विरोधका यी कार्यक्रमहरुका अतिरिक्त आन्दोलनका जारी अन्य कार्यक्रमहरु निरन्तर रुपमा
यथावत नै रहनेछ । २०७२ पौष २५