अन्तर्वार्ता/विचारआइतबार, पौष २६, २०७२

कृतघ्न नबनौं (सन्दर्भ पृथ्वी जयन्ती)

शेखर खरेल

राष्ट्रपिता पृथ्वीनारायण शाहप्रति कृतघ्न हुनु सन्तानले आफ्नै वैधताप्रति शंका गर्नु जस्तै हो ।

२०६२–६३ को दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले इतिहासदेखि मनाइँदै आएको २७ पुसको राष्ट्रिय एकता दिवस अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिवस खारेज गर्‍यो ।

prithivi narayan shah

दोस्रो जनआन्दोलनपछिको ‘नयाँ नेपाल’ को रुमानी रटानको घानमा सबैभन्दा पहिले पर्नेमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नै थिए । उनको सालिक ढालिएको दिनदेखि नै नेपाललाई सग्लो रहन नदिने षड्यन्त्र शुरू भयो । पृथ्वीनारायणलाई राष्ट्रनिर्माता भन्दा पनि साख गुमाइसकेका तत्कालीन राजा ज्ञानेन्द्र शाहका पूर्वजका रूपमा मात्र हेरियो ।

ज्ञानेन्द्रमाथिको रिस पृथ्वीनारायणउपर खन्याइयो । जसको ‘साना दुःखले यो मुलुक आर्जेको थिएन’, उनीप्रति कृतज्ञ हुनुको साटो कुनै खलनायक झैं बहिष्कारको उपक्रम थालियो । जसको पौरखको जगमा नेपाल निर्माण भयो, तथ्य बिर्सिएर उनैलाई उपनिवेशवादी, अतिक्रमणकारी, आतङ्ककारी, आततायी, कविलाका सरदार आदि भन्न थालियो ।

विडम्बना, उनलाई ‘खुनी आतङ्ककारी’ का रूपमा निन्दा गर्नेमा तिनै थिए, जसका हातहरू कालोपाटीमा चक घोट्ने शिक्षक, बसका यात्रु, कलमको निव नीलो मसीमा चोपिरहेका पत्रकारका रगतले लतपतिएका थिए ।

दक्षिणतिरबाट हिन्दूस्तानलाई सर्लक्कै निल्दै उत्तरतर्फ बढेको विश्वविजयी अंग्रेजी साम्राज्यबाट नेपाललाई जोगाउनु नै उनको अभीष्ट थियो, जसका लागि खण्ड–खण्डमा विभाजित पहाडी भुरेटाकुरे राज्य एकत्रित गर्नु पहिलो शर्त थियो ।

त्यो वेला १२ हजार घरधुरीको गोरखाका अल्लारे उमेरका राजा पृथ्वीनारायणलाई आर्थिक–सामरिक रूपमा सुदृढ लमजुङ, मकवानपुर र काठमाडौं उपत्यकाभित्रका काठमाण्डू, पाटन र भादगाउँ राज्य हराउनु ‘फलामको च्यूरा चपाउनु’ सरह थियो । तर, चतुर र युद्धकौशलमा निपुण उनले जीवनकालमै नेपाल राष्ट्रनिर्माणको सपना साकार पारे ।

पृथ्वीनारायणको विरासत
नेपाल एकीकरणको साढे दुई शताब्दीपछि दुई विरासतका आधारमा पृथ्वीनारायणलाई स्मरण गर्न सकिन्छ । पहिलो त उनी राष्ट्रनिर्माता थिए, जसले हामीलाई विश्व रङ्गमञ्चमा गर्विलो परिचय दिए ।

पृथ्वीनारायणको एकीकरण बहुलता निर्माणको अभियान थियो । गोरखाका राजा उनले एकीकृत भूमिलाई नेपाल नाम दिए । राजधानीसमेत सारे । क्षेत्री उनले काठमाडौंकी नेवार कन्या कुमारीको पाउमा आफ्नो शिर राखिदिए ।

सबै भू–भागका विशिष्ट परम्परा र संस्कृतिलाई राष्ट्रको साझ धरोहर बनाए । तर, अंग्रेज फौजलाई नेपालको सरहदबाट टाढै राखिराखे । अनि, इसाई धर्मको प्रचार गर्दै ‘असली हिन्दूस्तान’ नेपालको चीरहरण गर्न खोज्ने पादरीहरूलाई चारभञ्ज्याङ कटाए ।

पृथ्वीनारायणको यस्तो रवैयाबाट रन्थनिएका पादरीहरूले पुस्तक लेखेर उनीमाथि युद्धोन्मादी राजाको आरोप लगाए । अखण्ड नेपालको अस्तित्व स्वीकार्न नसक्ने केही नश्लवादीहरू यस्ता पुस्तकलाई ‘बाइबल’ मान्दछन् ।

तर, पृथ्वीनारायण सम्राट अशोक, अलेक्जेण्डर महान, हिटलर, पोलपोट, स्टालिन झै युद्धोन्मादी थिएनन् । इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा सम्पादित ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ पुस्तकमा लेखिएको छ, ‘युद्धकालमा अन्य देश वा जातिका मूल्य, मान्यता तथा भावनाहरूमा कुनै पनि किसिमले आघात नपार्ने, हातहतियार लिएर अघि नसर्ने कृषक, शिल्पकार तथा अन्य सर्वसाधारण जनतालाई कुनै हानि नोक्सानी नपुर्‍याउने र विपक्षी नै भए पनि उनका जहान–परिवारहरूको जीउधनको सुरक्षा गरिदिने पृथ्वीनारायणको नीति थियो ।’

पृथ्वीनारायणको दोस्रो विरासत उनको ‘स्टेट्क्राफ्ट’ हो । उनी युद्धनीतिमा जति कुशल थिए, त्यति नै सुयोग्य शासक पनि । ग्रीक दार्शनिक प्लेटोको ‘रिपब्लिक’ परिकल्पित ‘फिलोसफर किङ्ग’, पृथ्वीनारायणको चरित्रसँग हुबहु मिल्छ ।

न्यायिक राज्य कुशल र न्यायप्रेमी राजाको शासनमा मात्रै संभव छ भन्ने प्लेटोको दलिललाई पृथ्वीनारायणले प्रमाणित गरेका थिए । उनको ‘दिव्य–उपदेश’ को आजपर्यन्त सान्दर्भिकताले यसको पुष्टि गर्छ ।

पृथ्वीनारायणप्रतिको सम्मान राष्ट्रनिर्माताप्रतिको कृतज्ञभाव हो । राष्ट्रनिर्माता पिता सरह हुन्छन् । कुनै सन्तानले पितालाई पिता मान्न अस्वीकार गर्छ भने उसले आफ्नै वैधतामाथि शंका गरिरहेको हुन्छ । सबैलाई चेतना भया !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...