समाचारआइतबार, पौष २६, २०७२
मोरङ र सुनसरी माग्दै धनुषा र सर्लाहीमा आन्दोलन गर्नुको अर्थ छैनः गच्छदार
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरीका जनता दुई नम्बर प्रदेशमा जोडिन नचाहेको भन्दै ती जिल्लाको माग गर्दै अन्य ठाउँमा आन्दोलन गर्नुको औचित्य नभएको बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले भने, “म पनि मोरङ, सुनसरीको मान्छे हो, ती जिल्ला जनताले दुई नम्बर प्रदेशमा जान चाहेका छैनन्, ती जिल्ला चाहियो भनेर धनुषा र सर्लाहीले आन्दोलन गर्नुको अर्थ छैन ।”
अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेशमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने उनको दाबी छ ।
पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने तथा पश्चिममा पश्चिममा अर्घाखाँची,पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दावी गर्दै आफ्नो यो प्रस्तावमा प्रमुख दलका शिर्ष नेताहरुले अस्विकार नगरेको बताए ।
उनले भने, “तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने एक्सट्रिम सोच हो ।”
“मैले संविधान निर्माणअघि नै ल्याएको आठ प्रदेशको अवधारणा स्वीकार नगरिएकै कारण अहिले समस्या आएको छ, प्रमुख दलका नेता अहिले तपाइँले त्यो बेला ल्याएको प्रस्ताव ठीक रहेछ भन्न थाल्नुभएको छ,” गच्छदारले भने ।
देश विकासमा सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको बताउँदै वार्ता र सहमतिबाटै तराई–मधेशको आन्दोलन सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए ।
आफूले सधैँ मध्यमार्गी भूमिका खेलिरहेको भन्दै उनले त्यसो गर्दा आफ्नो आलोचना भए पनि नडराउने प्रष्ट पारे ।
उनले सरकार निर्माणका क्रममा सत्तारुढ दलसँग आफूले गरेका आठबुँदे सम्झौतामध्ये सीमाङ्कनबाहेक अन्य बुँदा कार्यान्वयनका क्रममा गइसकेको जानकारी दिए ।
गच्छदारले संविधानसभाबाट शहीदको सपना, जन आकांक्षा बमोजिम बनेको संविधान उत्कृष्ट भएकोले त्यसमा केही विषय बाहेक आफूहरु समर्थन रहेको स्पष्ट पारे । उनले भने, “मेरो असहमति कायमै छ तर संविधानमा असहमति होईन, केही विषयमा मात्रै हो । संविधान अग्रगमनकारी छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशीलाई सुनिश्चित गरेको छ ।”
मोदीलाई ऋषि मन बनाउन आग्रह
उपप्रधानमन्त्री गच्छदारले अहिले भारतीय नाकाबन्दीका कारण नेपालीले कठिनाइ भोग्नुपरेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऋषि मन बनाएर नेपाललाई सहयोग गर्न आग्रह गरे ।
“नेपालमा मोदी आउँदा नेताहरुलाई ऋषि मन बनाउनुपर्छ भन्नुभएको थियो, अहिले मोदीजीलाई ऋषि मन बनाउन मेरो आग्रह पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह गर्दछु,” गच्छदारले भने ।
उनले भारतजस्तो ठूलो देशले छिमेकी देशलाई ठूलै हृदय बनाएर सहयोग गर्नुपर्ने धारणा राखे ।