समाचारआइतबार, पौष २६, २०७२
वार्ता सहमति नजिक, खुशी हुनुहोसः हृदयेश त्रिपाठी
प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदलबीच भएको वार्ता अत्यन्तै सकारात्मक भएको र गम्भीर जिम्मेवारी वोध गर्दै चाँडै निष्कर्षमा पुगिने वार्ताका सहभागी नेताहरुले बताएका छन् ।
आज सिंहदरावारमा भएको वार्तापछि कार्यदलका सदस्य एवम् तमलोपा नेता हृदयेश त्रिपाठीले वार्ता सकारत्मक भएको, सबै विषयमा गम्भीर छलफल भएको भन्दै सबै जना खुशी हुने बेला आउन लागेको बताए ।
भोली, २७ पुसमा पुनः वार्ता हुने जानकारी दिंदै उनले गम्भीर जिम्मेवारी बोध गरी दुवै पक्षले सबै विषयमा सौहार्दपूर्ण रुपमा छलफल गरिरहेको बताएका थिए ।
संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले मोर्चाका ११ बुँदे मागबारे सत्ता पक्षले राखेको प्रारम्भिक प्रस्तावमा एकसरो छलफल भएको र मोर्चाभित्र र कार्यदलमै पनि थप छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिए ।
उनले भने, “घनिभूत रुपमा विचार आदानप्रदान र छलफल भएको छ, थप छलफल गरी निष्कर्षमा पुग्छौं ।”
एमाले नेता एवम् उपप्रधानमन्त्री भीम रावलले वार्ता सहमतिको निकट पुगेको जानकारी दिंदै अब भएका छलफललाई निष्कर्षमा रुपान्तरण गर्ने बेला आएको बताए । भने, “भोली पनि थप छलफल हुन्छ, चाँडै निष्कर्षमा पुग्छौं ।”
कार्यदलमा प्रमुख तीन दलका तर्फबाट महेश आचार्य, भीम रावल र शक्ति बस्नेत तथा मधेशी मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राययादव छन् ।
-कपिल भट्ट