समाचारसोमबार, पौष २७, २०७२

पुनःनिर्माण अभियानको शुभारम्भ राष्ट्रपतिले रानीपोखरी र प्रधानमन्त्रीले बुङ्मतीबाट गर्ने

रासस

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको आज, २७ पुसमा बसेको पहिलो बैठकले आगामी २ माघदेखि पुनःनिर्माण अभियान थाल्ने निर्णय गरेको छ ।

पुन:निर्माण अभियानको शुभारम्भ काठमाडौँको रानीपोखरीबाट राष्ट्रपतिले र ललितपुरको बुङ्मतीबाट प्रधानमन्त्रीले गर्ने निर्णय भएको प्राधिकरणका कामु सचिव मधुसूदन अधिकारीले जानकारी दिए ।

“समितिले प्राधिकरणका सबै साङ्गठनिक संरचनाका लागि रु २९ करोड प्रशासनिक खर्च समेत स्वीकृत गरेको छ”– उनले भने, “प्राधिकरणको नीति तथा कार्यक्रम अर्का बैठकमा पारित गर्ने गरी तयारी भएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, विपक्षी दलका तर्फबाट नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, मुख्य सचिव डा सोमलाल सुवेदी र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहभागी थिए ।

प्राधिकरणका आठ कार्यालय रहने
त्यस्तै बैठकले आठ कार्यालय रहने साङ्गठनिक संरचना निर्धारण गरेको छ ।

केन्द्रमा एक केन्द्रीय कार्यालय, भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि ६ उपक्षेत्रीय र बाँकी भूकम्प प्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालय रहने निर्णय गरेको हो ।

भूकम्पपछिको आवश्यकता मूल्यांकन प्रतिवेदनले मुलुकभर ३१ जिल्ला भूकम्पबाट प्रभावित भएको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>