थप समाचारमंगलबार, पौष २८, २०७२

बाजुरा: महामारीले लाखौँका भेडाबाख्रा मर्दै

हिमालखबर

बाजुरा जिल्लामा भेडाबाख्रामा पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् ।

मानिसमा फैलिने हैजा जस्तै संवेदनशील मानिने पिपिआरको महामारी बाजुराका भेडाबाख्रामा फैलिएर धमाधम मर्न थालेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिद्धराज जोशीले बताए । उनले महामारीबाट जिल्लाका विभिन्न स्थानमा एकसाताको अवधिमा करिब २०० बढी भेडाबाख्रा मरिसकेको जानकारी दिए ।

हाल चरीचरणका लागि बडिमालिकाको मना क्षेत्रमा ल्याएका हुम्लाका सर्किदेउ गाविस, रिप गाउँका भक्त कार्कीका २५ भेडा मरेका छन् भने बथानै बिरामी परेका छन् ।

उनीसँगै रहेका हुम्लाकै खनालगाउँ–५ का नाङ्ग्याल लामाका २५ भेडा मरिसकेका र छवटा सिकिस्त छन् । हाल मना क्षेत्रमै चरिचरणका लागि राखिएका अन्य व्यवसायीका भेडाबाख्रा सङ्क्रमित भएको बताइएको छ ।

एउटा भेडाको बजार मूल्य रु १३ हजारदेखि रु १८ हजारसम्म पर्ने गरेका छ । लामाले भने, “भेडा मरेपछि अन्य विकल्प नभएको मेरो परिवारको बिचल्ली हुने भो” । महामारी कालीकोट हुँदै हुम्लाबाट बाजुरा पुगेको पशु स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

“यसै वर्ष भेडा किनेको थिएँ यसै वर्ष पिपिआर आयो दशा लागेर भेडा पाल्नेतिर भाग्यले डोर्‍याएको रहेछ” – बाजुरा जिल्ला जुकोट– १ का पदमबहादुर शाहीले भने ।

पशुसेवा केन्द्र रुगिनका प्रमुख देवनारायण जैसीका अनुसार पाणि गाउँमा, कोल्टी इन्चार्ज चक्रदेव जोशीका अनुसार कुरु गाउँमा, र जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख सिद्धराज जैसीका अनुसार मानाकोट, दहकोट, जुगाडा, जिल्लीलगायतका गाउँमा समेत महामारीबाट सयौँ भेडाबाख्रा बिरामी परेका छन् ।

क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका पशु प्राविधिकले महामारी फैलिएका क्षेत्रमा गरेको स्थलगत अध्ययनबाट पिपिआर नै भएको पुष्टि भएको कार्यालयका निमित्त प्रमुख जैसीले बताए ।

यो रोग लागेपछि सिँगान बग्ने, ओठ पाक्ने, आँखामा कचेरा आउने र पातलो दिसा गर्ने लक्षण देखापर्ने र तीन चार दिनमै मृत्यु हुने पशु चिकित्सकहरुले बताए ।

महामारी नियन्त्रणका लागि कार्यालयमा रहेका पशु स्वास्थ्यकर्मीहरुको टोली पहिलो चरणमा प्रभावित क्षेत्रमा परिचालित भएको निमित्त प्रमुख जैसीले जानकारी दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>