समाचारबुधबार, पौष २९, २०७२
आन्दोलनका कारण विकासका काम ठप्प
मधेशमा जारी आन्दोलनका कारण पर्साका विकास साझेदार संस्थाहरुको सहयोगमा संचालित विकासका कार्यक्रमहरु ठप्प भएका छन् ।
आन्दोलनका कारण पर्सामा सञ्चालित शिक्षा, स्वास्थ्य र सरसफाईका अधिकांश कार्यक्रमहरु प्रभावित भएका छन् ।
आन्दोलन भन्दा अघि तीब्र रुपमा चलिरहेको खुला दिसा मुक्तक्षेत्र घोषणा अभियान आन्दोलनका कारण रोकिएको छ । सन २०१५ भित्रै पर्सा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको भएपनि १० वटा गाविस र वीरगञ्ज उपमहानगरपालिकाको ४ वटा वडा मात्रै खुल्ला दिसामुक्त घोषणा भएका छन् ।
विद्यालय क्षेत्र सुधार कार्यक्रमहरु पनि आन्दोलनका कारण प्रभावित भएको छ ।
आन्दोलनका कारण कार्यालय प्रमुखहरु कार्यालयमा नियमित नबसेको, गाविस सचिवहरु गाँउमा बस्न नसेको लगायतका कारण विकास साझेदार संस्थाहरुको सहयोगमा संचालित कार्यक्रमहरु बन्द भएको गैरसरकारी संस्थाका सञ्चालकहरुले बताएका छन् ।
आन्दोलनबाट सबै भन्दा बढी मार शैक्षिक क्षेत्रमा परेको युनिसेफ पर्साका योजना तथा कार्यक्रम अधिकृत माधव बरालले जानकारी दिए ।
त्यस्तै जिल्ला विकास समिति मार्फत विकासका साझेदार संस्थाहरुले सञ्चालन गरेका सबै काम ठप्प छ ।
युनिसेफ र स्थानीय विकास मन्त्रालयको साझेदारीमा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रम पनि पूर्ण रुपमा प्रभावित छ ।
जिल्ला विकास समितिका सूचना अधिकृत शम्भु कुशवाहले काम गर्न सक्ने वातावरण नभएको बताए ।
स्थानीय स्तरमा सञ्चालित गैरसरकारी संस्थाहरुका कार्यक्रमहरु समेत आन्दोलनले प्रभावित बनेको छ ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष राम नरेश यादवले स्थानीय निकायसँग सम्बन्ध राख्ने सबैखाले कार्यक्रम प्रभावित भएको बताए ।
साउनबाटै आन्दोलन शुरु भएकोले जिल्लाका सरकारी निकायले गैरसरकारी संस्थाहरुसँग चालु आर्थिक वर्षका नयाँ कार्यक्रम सम्झौता समेत गर्न नपाएको उनले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
