Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साइकल समय - Himalkhabar.com

थप समाचारबुधबार, पौष २९, २०७२

साइकल समय

सविता श्रेष्ठ

नाकाबन्दी उत्पन्न इन्धन अभावले धेरैलाई साइकलप्रति आकर्षित गरे पनि काठमाडौंलाई ‘साइकल शहर’ बनाउन थुप्रै काम गर्नै बाँकी छ।

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

जावलाखेल, ललितपुरका शिव गुरुङ (६७) तीन दशकदेखि साइकल चढिरहेका छन्। व्यायामका लागि समय र खर्च दुवै नहुने भएकाले साइकल चलाउनु उनका लागि ‘एक काम, दुई काज’ हो। दैनिक २० किलोमीटरसम्म साइकल चलाउने उनी उपत्यकामा आयोजना गरिने अधिकांश साइकल र्‍यालीमा पुग्छन्। “युवालाई प्रोत्साहन होस् भनेर म बूढो साइकलै चढिरा’छु”, उनी भन्छन्।

गुरुङले साइकल चढ्न थालेकै वर्षहरूमा विशेषगरी कार्यालय आउजाउका लागि उपत्यकामा साइकल लोकप्रिय थियो। तर, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन बढेसँगै साइकल थन्कन थाल्यो।

SabitaCycle .inddजापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अध्ययनले पनि उपत्यकामा २० वर्ष (१९९१–२०११) को अन्तरमा साइकलको प्रयोग ६.६ प्रतिशतबाट १.५ प्रतिशतमा झारेको देखाएको छ। यो अवधिमा मोटरसाइकल चढ्नेहरू भने तेब्बर बढेको तथ्यांकले देखाएको छ।

साइकल सचेतना
भारतीय नाकाबन्दीका कारण उत्पन्न इन्धन अभावले धेरै यात्रु पुनः साइकलको शरणमा पुगेका छन्। हरिहरभवन, ललितपुरकी उषा खनाल (२३) लाई इन्धन हाहाकारको कुनै असर छैन। जावलाखेलस्थित युलेन्स किन्डरगार्डेनमा कार्यरत उनी काठमाडौंभित्र जहाँ जानु परे पनि साइकलमा निश्चिन्त हुँइकिरहेकी छन्। “साइकलमा स्वतन्त्र भएर हिंडडुल गर्न सकिन्छ”, उनी भन्छिन्।

असनस्थित पञ्च अष्टनारायण साइकलका तिरेक मानन्धर उपत्यकामा यो वर्ष दोब्बर अर्थात् १० हजार जति साइकल बिक्री हुने दाबी गर्छन्। केही वर्षदेखि तन्दुरुस्ती र साहसिक यात्राका लागि साइकलको प्रयोग बढिरहेको बताउँदै उनी पछिल्लो समय सिटी, हाइब्रिड, ट्रेल, क्रस कन्ट्री, अल्मुनियम र डाउन हिल जस्ता साइकलको बिक्री बढेको बताउँछन्।

चीनको खासाहुँदै नेपाल भित्रिने साइकल १२ वैशाखको महाभूकम्पपछि वीरगञ्ज नाकाबाट आउँथ्यो। तर, नाकाबन्दीपछि त्यो बाटो पनि बन्द भएपछि विराटनगरबाट साइकल ल्याउनु परेको बाध्यता सुनाउँदै मानन्धर भन्छन्, “नाकाबन्दीले एक त ल्याउनै समस्या परेको छ, ल्याइहाले पनि मोल ह्वात्तै बढेको छ।”

सल्यानकोट, धादिङका चक्षुविक्रम मल्ल पाँच वर्ष अघिदेखि मोटरसाइकल बेचेर साइकल चढ्न थालेका हुन्। मल्ल जस्तै साइकल चलाउने युवा जमातको सक्रियतामा स्थापित साइकल सिटी नेटवर्कले ‘काठमाडौं साइकल सिटी २०२०’ अभियान नै चलाइरहेको छ।

साइकल सम्बन्धी विभिन्न कार्यक्रम र वकालत गरिरहेेको नेटवर्कले साइकल राइडिङ ट्रेनिङका साथै हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रबार ‘क्रिटिकल मास साइकल र्‍याली’ गरिरहेको छ। “वातावरण संरक्षणका लागि पनि साइकल रोज्ने क्रम बढेको छ”, नेटवर्कका कार्यकारी निर्देशकसमेत रहेका मल्ल भन्छन्।

तर, लेन छैन
बालुवाटारस्थित नेशनल कलेजमा स्नातक अध्ययनरत विशेष लिम्बू (१९) बूढानीलकण्ठबाट साइकलमै आउजाउ गर्छन्। अन्यत्र जाँदा पनि साइकल नै चढ्छन्। “तर, सडकमा साइकल लेन नहुँदा सारै डर लाग्छ”, उनी भन्छन्। उषा पनि साइकलको छुट्टै लेन नहुँदा अन्य सवारी चालकले पेल्न खोज्ने बताउँछिन्। उनी भन्छिन्, “कतिपय ठाउँमा साइकल पार्किङको पनि समस्या छ।”

उपत्यकामा तीनकुनेदेखि माइतीघरसम्म १.७ किमी र तिलगंगादेखि सिनामंगलसम्म १.८ किमीको साइकल लेन बनाइएको छ। सडक विभागका अनुसार, अहिले विस्तार भइरहेको कोटेश्वर–कलंकीसम्मको सडकमा पनि साइकल लेन बनिरहेको छ। पेप्सीकोलादेखि जडीबुटीसम्म १.७ किमीमा पनि एकतर्फी साइकल लेन बन्दैछ।

तर, सडकपेटी ब्लक प्रयोग गरी बनाइएकोले यसलाई साइकल लेन मान्न नसकिने स्वच्छ ऊर्जा नेपालका कार्यक्रम निर्देशक प्रशान्त खनालको तर्क छ। तर, सडक विभागका उपमहानिर्देशक उमेश झा काठमाडौंमा बनाइएका साइकल लेन अहिलेको स्थितिका लागि उपयुक्त मान्नुपर्ने बताउँछन्।

उपत्यकामा थप साइकल लेन बनाउन कठिन हुने बताउँदै उनी भन्छन्, “जग्गा अधिग्रहण गरेर साइकल लेन बनाउनु अहिलेका लागि असम्भव जस्तै हो।” साइकल सिटी नेटवर्कका मल्ल लेन अभावकै कारण साइकल चढ्न छाड्न नहुने बताउँछन्। सुरक्षित साइकल सवारीका लागि हेल्मेट, लाइटको संकेत दिने ज्याकेट र ट्राफिक नियमबारे जानकारी राख्नुपर्ने उनको सुझाव छ।

साइकल नै उपयुक्त
इन्ष्टिच्यूट अफ ट्रान्सपोर्टेसन एण्ड डेभलपमेन्ट पोलिसी (आईटीडीपी) का अनुसार, विश्वका ३५ प्रतिशत यात्रा ५ किमीभन्दा कम र ५० प्रतिशत यात्रा १० किमीभन्दा छोटा हुन्छन्। संस्थाले यति छोटो दूरीका लागि साइकल नै उपयुक्त हुने पनि जनाएको छ।

“दूरी र मौसम दुवै हिसाबले काठमाडौं साइकल चलाउन उपयुक्त शहर हो”, स्वच्छ ऊर्जा नेपालका खनाल भन्छन्। स्वस्थ मानिसलाई दैनिक २० किलोमीटरसम्म साइकल चलाउन गाह्रो नहुने उनको अनुभव छ।

काठमाडौंलाई ‘साइकल शहर’ बनाउनुपर्नेबारे चर्चा चलिरहँदा सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिएको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्चार्ज विजय महतो बताउँछन्। उनी भन्छन्, “साइकल शहरलाई नै केन्द्रमा राखी योजना त बनेका छैनन्, तर विस्तार हुँदै गरेका सडकमा सम्भव भएसम्म साइकल लेन बनाउनुपर्छ भनेर काम भइरहेको छ।’

खनाल भने एकदुई अभियानले मात्र काठमाडौं साइकल शहर नबन्ने बताउँछन्। उनी भन्छन्, “पहिलो शर्त, सरकारले नै साइकल चलाउनेलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>