समाचारबुधबार, पौष २९, २०७२
सहज हुँदै वीरगञ्ज, लागेन ‘अन्तिम धक्का’
मधेश केन्द्रित दलहरुले ३० साउनदेखि शुरु गरेको मध्यमधेश केन्द्रित आन्दोलन अहिले सेलाएको छ ।
आन्दोलनरत मधेशी मोर्चाले संविधान जारी भएको तीन महिना पुगेको दिन (३ पुस) देखि ‘अन्तिम धक्का’ भन्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको भए पनि त्यसको प्रभाव दुई दिनसम्म मात्रै रह्यो । १९ पुसदेखि सशक्त आन्दोलन गर्ने भनेको संघीय मधेशी गठबन्धनको घोषणा पनि तीन दिनमै सेलाउन पुग्यो ।
आन्दोलनको केन्द्रकै रुपमा पहिचान बनाएको वीरगञ्जमा समेत पछिल्लो एकसाता देखि कुनै प्रदर्शन भएको छैन । जनजीवन सहज बन्दै गएको छ ।
अहिले वीरगन्जका बजारहरु दिनभर खुल्ने गरेका छन् भने सार्वजनिक सवारीका साधनहरु पनि सञ्चालन हुन थालेका छन् ।
करिब ५ महिना बन्द रहेको वीरगञ्ज–काठमाडौं यातायात शुरु हुन थालेको छ । वीरगञ्जबाट काठमाडौं जाने जीप (टाटासुमो) सञ्चालन हुन थालेको दुई साता पुगेको छ भने वीरगञ्ज पथलैया चल्ने सिटिराईड बस, टेम्पो, वीरगञ्ज–नारायणघाट चल्ने बस समेत चल्न थालेका छन् ।
बारामा पनि बजार तथा यातायात सञ्चालनमा आएको छ । अहिले कलैया–वीरगञ्ज सार्वजनिक सवारी निर्वाध सञ्चालनमा छ ।
सडकमा यातायात सुचारु भएपछि लामो समयसम्म नदेखिएका ट्राफिक प्रहरी पनि सडकमा देखिन थालेका छन् ।
१५ दिनदेखि सडकमा सवारी साधनको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ईन्चार्ज खेम आचार्यले बताए । उनले भने, “वीरगञ्जबाटै लामो दुरीका टाटासुमो, नारायणघाट जाने बसहरु समेत सञ्चालनमा आउन थालेका छन् । त्यसैले केही दिनदेखि सडकमा ट्राफिक प्रहरीलाई समेत खटाउन थालेका छौं ।”
आन्दोलनका कारण रोकिएको ट्राफिक चेकजाँच समेत शुरु गरिएको उनले बताए । एकसातादेखि राति मापासे चेकिङ समेत सञ्चालनमा छ ।
वीरगञ्ज घण्टाघरको अगाडीबाटै सार्वजनिक सवारी साधनहरु छुट्ने गरेको भए पनि आन्दोलनकारीहरुले कुनै अवरोध गरेका छैनन् ।
१९ पुसमा संघीय मधेशी गठबन्धन र विभिन्न व्यवसायी संघ बीच दिउँसो दुई बजेसम्म बजार पसल बन्द गर्ने सहमति भए पनि त्यसको दुई दिन बित्न नपाउँदै वीरगन्जका बजार र पसलहरु बिहान देखि बेलुकी सम्म खुल्न थालेका छन् ।
व्यपारीहरुले दिनभर बजार पसल खोले पनि आन्दोलनरत दलका नेता कार्यकर्ताहरुले कुनै वाधा गरेका छैनन् ।
रातिको समयमा वीरगन्जबाट ट्रक र कन्टेनरहरुले सामान ओसार्दै आएका छन् । यस्तै वीरगन्जबाट मालबहाक ट्रक, कन्टेनर, यात्रुबहाक सबैखाले गरी दैनिक करिब २५० वटा सवारी साधनहरु सुरक्षा दिएर जिल्ला बाहिर पठाउने गरिएको छ ।
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले विना अवरोध दैनिक दुई सय ५० भन्दा बढी सवारी वीरगञ्जबाट बाहिरिने गरेको बताए ।
उनका अनुसार ३ महिनामा १२ हजार भन्दा बढी सवारी सुरक्षा दिएर जिल्ला बाहिर पठाईएको छ ।
आन्दोलन, बन्दहडताल, प्रदर्शन र झडपका कारण तनावग्रस्त बनेको वीरगन्ज केहि दिनदेखि शान्त रहेको उनले बताए ।
उनले भने, “पहिलेका दिनमा जस्तो प्रदर्शन छैन् । जर्बजस्ती बजार र यातायात बन्द गराउने काम पनि भएको छैन ।”
तर रक्सौल–वीरगन्ज नाकाको मितेरी पुलमा गत ७ असोज देखिको धर्ना भने जारी नै छ । यद्यपी धर्नाकारीको संख्या न्यून छ, कुनै कुनै बेला धर्नास्थल रित्तै पनि देखिन्छ ।
संघीय समावेशी मधेशी गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवले आन्दोलन केही कमजोर बनेको भन्दै थपे, “थुप्रै कारणले पहिलेजस्तो हजारौं जनता सडकमा ओर्लने अवस्था अहिले छैन् ।”
उनका अनुसार आन्दोलनरत दलहरुबीच बढ्दो मतभेद, सदभावना पार्टीद्वारा छुट्टै आन्दोलनको घोषणा, दलहरु वार्ता रणनीतिमा केन्द्रित हुनु र खेतिपाती र चिसो मौषमले पनि आन्दोलनमा शिथिलता देखिएको हो ।
आन्दोलनमा रहेका केही नेताको छवी धमिलिएका कारण पनि जनता निराश भएको हुनसक्ने उनको भनाई छ ।
सुरेश बिडारी, वीरगञ्ज