समाचारबुधबार, पौष २९, २०७२
संकट समाधानका लागि सरकारमा: कमल थापा
उपप्रधानमन्त्री कमल थापाले संविधानमा असहमति हुँदाहुँदै पनि मुलुकको संकट समाधानका खातिर संविधानमा हस्ताक्षर गरी आफ्नो दल सरकारमा सहभागी भएको बताएका छन् ।
“षडयन्त्रपूर्वक रातारात हिन्दु राष्ट्रको परिचय हटाइयो, जनताको अभिमत नबुझी राजतन्त्रलाई पाखा लगाइयो,” २९ पुसमा झापाको दमकमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले दशबर्ष अघिका कुरा उठाए, “रातारात लाखौं बिदेशीलाई नागरिकता वितरण गरियो, जसकारण मुलुक संकटमा फँस्दै गएको छ ।”
उनले गत दश वर्षको राजनीतिक गतिरोधका कारण मुलुकको आधुनिक इतिहासमा कहिल्यै नउठेको बिखण्डनको आवाज उठ्न थालेको टिप्पणी गरे ।
परराष्ट्र र स्थानीय विकास मन्त्रालय समेत सम्हालेका राप्रपा नेपालका अध्यक्ष थापाले भने, “मुलुक र जनताको पहिचान संकटमा परेको छ ।”
भेलामा बोल्दै राप्रपा नेपालका नेता तथा भुमिसुधारमन्त्री रामकुमार सुब्बाले सुशासन दिन आफ्नो पार्टी सरकारमा सामेल भएको दाबी गरे ।
भेलाका अर्का वक्ता राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले भने, “क्रिसमसमा बिदा दिने सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा नदिनु मुलुकका लागि दुर्भाग्यपूर्ण हो ।”
प्रधानमन्त्री केपी ओलीले उखान टुक्काको भरमा मुलुक चलाउन खोजेको आरोप लगाउँदै उनले थपे, “धन्न हाम्रो पार्टीका नेता सरकारमा हुनुहुन्छ र सरकार भएजस्तो अनुभूति हुन्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
