खेलकुदबिहीबार, पौष ३०, २०७२
हेटौडामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुँदै
मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
१–८ फागुनमा हुने प्रतियोगितामा नेपाल बाहेक भारत र भुटानका विभिन्न क्लबहरुले प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका थ्रीस्टार, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, झापा–११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी र घरेलु टिमले सहभागिता जनाउने छन् ।
प्रतिष्ठानका अध्यक्ष भेष खड्कीका अनुसार प्रतियोगिता वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ । प्रतियोगिताको मिति तय भएसँगै झण्डै ५ सय जना अट्ने अस्थायी प्याराफिट बनाउने तयारी शुरु भएको प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र दोस्रो हुनेले नगद १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यसैबीच, प्रतियोगितामा सहभागी हुने घरेलु टोलीका लागि प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
प्रतिष्ठानले घरेलु टोलीका मुख्य प्रशिक्षकमा विजयलाल श्रेष्ठ तथा सहायक प्रशिक्षकमा सुविन घिमिरेलाई जिम्मेवारी सुम्पेको छ ।
-सुरजकुमार भुजेल, मकवानपुर