समाचारबिहीबार, पौष ३०, २०७२
ग्यास बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइँदै
रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइँदै छ ।
रक्सौलमा रहेका पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन शुरु भइसकेको छ ।
सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भन्सार जाँचपास भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट नेपाल भित्र्याउन सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो ।
भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट बुलेट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएका ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आलय निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ ।
रक्सौल बजारदेखि करिब पाँच किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५५ वटा ग्यास बुलेटलाई रि–रुट गरी सुनौली र जोगवनी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकको भनाइ छ ।
यस्तै कागजात दाखिला नगरेका बुलेटलाई इन्डियन आयल कर्पोरेसनले अर्को नाकाबाट पठाउने तयारी गरेको छ । बाँकी बुलेटको हकमा रि–रुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताए ।
भन्सार दाखिला र रुट निर्धारणले झन्डै ३०० बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेट आधाभन्दा कममा सीमित भएको थियो ।
इन्डियन आयल कर्पोरेसनको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ । भारतको पश्चिम बङ्गालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुरावाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रि–रुटका लागि फिर्ता गरिएको रक्सौलस्थित भारतीय भन्सारका अधिकारीको भनाइ छ ।
रक्सौलमा थन्किएका करिब २५५ बुलेटमध्ये आधा बरौनी र बाँकी हल्दिया र मथुराबाट आएका हुन् ।
वीरगन्जस्थित निगमका क्षेत्रीय प्रमुख अभिषेख ठाकुरका अनुसार ग्यास बुलेटको रि–रुट गराउन पश्चिम बङ्गालको हल्दियास्थित इन्डियन आलय कर्पोरेसनको रिफाइनरीमा पुगेको छ ।
एक बुलेटले एक हजार २५० सिलिण्डर ग्यास भर्ने गर्छ । त्यसअनुरुप सीमावर्ती क्षेत्रमा रोकिएका सबै बुलेट ल्याएर आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने हो भने झन्डै पाँच लाख परिवारको चुल्होमा खाना पाक्ने निगमको अनुमान छ ।
भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट भारतको नाकाबन्दी र मधेशकेन्द्रित दलको अनिश्चितकालीन बन्दका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय बजार रक्सौलमै थन्किएका थिए ।
रासस