समाचारबिहीबार, पौष ३०, २०७२
युवासंघद्वारा तमलोपा कार्यालय घेराऊ
मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमालेको जनकपुरस्थित पार्टी कार्यालय घेराऊ गरेपछि आक्रोसित भएका युवा संघका कार्यकर्ताले तमलोपाको काठमाडौंस्थित केन्द्रीय कार्यालय घेराऊ गरेका छन् ।
विजुलीबजारस्थित पार्टी कार्यालयमा नाराबाजी गर्दै पुगेका एमालेको जनवर्गीय संगठन युवा संघका कार्यकर्तालाई प्रहरीले तत्कालै हटाएको छ ।
यसबारेमा सोध्दा युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले आक्रोशित कार्यकर्ताले घेराऊ गरेको हुनसक्ने भन्दै संघको घेराऊ सम्बन्धी कुनै कार्यक्रम नभएको बताए ।
युवा संघले जनकपुरमा मधेश जागरण कार्यक्रम सञ्चालन गरिरहँदा मोर्चाका कार्यकर्ताले पार्टी कार्यालय घेराऊ गर्दै नाराबाजी गरेका थिए । त्यहाँ पनि प्रहरीले मोर्चाका कार्यकर्तालाई हटाएपछि युवा संघले कार्यक्रम सञ्चालन गरेको थियो ।
युवा संघका धनुषा जिल्ला सचिव विश्वनाथ यादवले लोकतान्त्रिक अधिकार हनन् गर्नेगरी मोर्चाको कार्यकर्ताले निन्दनीय काम गरेको बताए । उनले भने, “सरकारलाई दबाव दिन नै कार्यक्रम चलाइरहेका छौं, तर हामीमाथि नै जनकपुरमा आक्रमणको प्रयास गरियो ।”