समाचारशुक्रबार, माघ १, २०७२
खुलामञ्चमा ‘बेसमेन्ट पार्किङ’ बन्ने
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा ‘बेसमेन्ट पार्किङ’ को सम्भाव्यताको अध्ययन शुरु गरेको छ ।
काठमाडौंमा गाडी पार्किंङको समस्या बढदै जाँदा खुलामञ्चमा भूमिगत पार्किङको तयारी शुरु गरेको महानगरपालिकाले त्यससम्बन्धी अध्ययनको जिम्मा नेस्ट प्राइभेट लिमिटेडलाई दिएको छ ।
तीन दिन अघिदेखि शुरु भएको अध्ययन्ले निर्माणको डिजाइन, बजेट, समयलगायत बारे जानकारी दिने महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका प्रमुख शिवराज अधिकारीले बताए । प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन कम्पनीलाई साढे दुई महीनाको समय तोकिएको छ ।
प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि टेण्डर आह्वान गरिने अधिकारीले जानकारी दिए ।
उनकाअनुसार ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो पार्किङस्थल दुई तलाको हुनेछ ।
महानगरले खुलामञ्चमा सँगै सुरुङमार्ग पनि बनाउने भएको छ ।
बेसमेन्ट पार्किङसँग जोडेर खुल्लामञ्चदेखि न्यूरोड, बागबजार तथा पुरानो बसपार्क छुने सुरुङमार्गको समेत निर्माण हुने महानगरपालिकाले जनाएको छ ।
रासस