थप समाचारशनिबार, माघ २, २०७२
अनाथको पढाइ एसएलसी!
एसएलसीसम्म मात्रै हेरचाह गर्ने सरकारी नीतिका कारण अधिकांश अनाथको पढाइ त्यहीं टुंगिने गरेको छ।
महेन्द्रनगरस्थित महाकाली अञ्चल बाल अनाथालयबाट २०५५ यता ३५ बालबालिकाले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्। एसएलसीसँगै अनाथालय छाडेका उनीहरूमध्ये पाँच जनाले कक्षा १२ सम्म र एक जनाले मात्र स्नातक अध्ययन गरिरहेका छन्। स्नातकसम्म पुगेका हिमाल डगौरा चिनेजानेकाहरूले सहयोग गरेकै कारण बीएस्सी पढाइ सम्भव भएको बताउँछन्।
कैलालीका सबै ७ अनाथालयका बालबालिकाले पनि एसएलसीपछि पढाइ छाड्ने गरेका छन्। कञ्चनपुरको अमर बाल गृह र कृष्ण प्रणामी सेवाधाम अनाथालय होस् या साँफेबगर, अछामस्थित माया सदनका अनाथ; एसएलसीपछि सबैको हालत उस्तै छ। यो देशभरिको समस्या हो।
अनाथालय व्यवस्थापन निर्देशिका २०५३ को उद्देश्य ७ (घ) मा ‘एसएलसीसम्म हेरविचार र पढाइ’ गर्ने उल्लेख गरिएकोले पनि अनाथलाई एसएलसीपछिको शिक्षा ‘अनावश्यक’ झैं ठानिएको हो। अनाथालयमा रहँदासम्म सरकारी वा निजी दुवै विद्यालयमा निःशुल्क अध्ययनको सुविधा पाउने अनाथले त्यसपछि भने त्यो सुविधा पाउँदैनन्। बस्ने–खाने नै समस्या पर्ने उनीहरूलाई उच्च शिक्षा शुल्कले पीडा थप्ने गरेको छ।
महाकाली अञ्चल बाल अनाथालयबाटै २०५५ सालमै एसएलसी उत्तीर्ण डडेल्धुराका हरिलाल भट्ट हातमुख जोर्न भारततिर लागे। अहिले पनि यताउता गरिराख्छन्। उनीसँगै एसएलसी दिएका दार्चुलाका देवराम टमटाले पनि एसएलसीसँगै अनाथालय छोड्नु पर्यो। अहिले उनी ठेलामा तरकारी बिक्री गरेर गुजारा चलाइरहेका छन्। सोही वर्ष अनाथालयबाटै एसएलसी दिएका दार्चुलाका करन सिंह तिङ्करी अहिले मलेसियामा छन्।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गत वर्ष गरेको ‘सरकारद्वारा सञ्चालित बालकल्याण गृहहरूको व्यवस्थापन सुधार सम्बन्धी प्रतिवेदन’ मा पनि ‘एसएलसी उत्तीर्णपछिको अवस्थाका बारेमा स्पष्ट नभएको’ उल्लेख छ। ‘१६ वर्ष पूरा भएपछि (एसएलसी पास वा पास हुन नसकेका) बालबालिका कुन अवस्थामा छन् भन्ने विषयमा सम्बन्धित बालकल्याण गृह र मन्त्रालय बेखबर’ रहेको भनिएको प्रतिवेदनमा ‘एसएलसीपछिको उच्च शिक्षा वा व्यावसायिक तालीम एवं स्वरोजगार/रोजगार सम्बन्धी व्यवस्था’ गर्नुपर्ने सुझाव दिइएको छ।
केन्द्रीय बालकल्याण समितिले यसै वर्ष गरेको ‘नेपालमा बालकल्याण गृहको अवस्था’ प्रतिवेदनमा देशभर ४५ जिल्लाका ५८५ बालकल्याण गृह (अनाथालय) मा १५ हजार ८११ अनाथ बालबालिका आश्रय लिइरहेका छन्। तीमध्ये ७ हजार ८३८ बालिका र ७ हजार ९७३ बालक छन्।
सरकार नै अभिभावक
“एसएलसी दिनुअघि नै पछि कसरी पढ्ने भन्ने चिन्ता शुरू हुन्छ”, काठमाडौंस्थित हाम्रो शक्ति होममै बसेर एसएलसी उत्तीर्ण कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाकी देवकी जोशी भन्छिन्। कक्षा १२ उत्तीर्ण नगरुञ्जेलसम्म अटेर गरी होममै बसेकी उनी अहिले महेन्द्रनगरकी शिक्षिका जानकी बोहराकै घरमा बसेर स्नातक पढिरहेकी छन्। देवकी जस्तै तीन अनाथ बालिकालाई एसएलसीपछि घरमै राखेर पढाइरहेकी बोहरा अनाथलाई सरकारले पनि अनाथ बनाएको गुनासो गर्छिन्।
एसएलसीको तयारी गरिरहेका सुरेन्द्र चन्द एसएलसीपछि पनि बालकल्याण गृहमै बसेर पढ्न पाउने र जहाँ बसेर पढे पनि निःशुल्क पढ्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्छन्। अर्का विद्यार्थी करन सिंह भन्छन्, “सरकारले आफ्नो खुट्टामा नउभिउञ्जेल सघाइदिए हुन्थ्यो।” महाकाली अञ्चल बाल अनाथालयका व्यवस्थापक शंकर चन्द अनाथ बालबालिकालाई सरकारले नै पढाउने जिम्मा लिनुपर्ने बताउँछन्।
बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
