थप समाचारशनिबार, माघ २, २०७२

अशान्त लुम्बिनी

हिमालखबर

मधेश आन्दोलन, नाकाबन्दी र लुम्बिनी विकास कोषका कर्मचारीको आन्दोलनले लुम्बिनी क्षेत्र बेहाल बन्दो छ।

ssbशान्तिदूत बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक ओइरिने समय भनेकै असोज–चैत हो। गत वर्षहरूमा यहीवेला दैनिक करीब पाँच हजार पर्यटक लुम्बिनी आउँथे। होटल खचाखच भरिन्थ्यो। उत्साहजनक व्यापार हुन्थ्यो। पूजाले वेग्लै सुगन्ध छर्थ्यो। शान्ति धुन परपरसम्म गुञ्जिन्थ्यो।

तर, महाभूकम्पपछि तंग्रिंदै गरेको लुम्बिनी मधेश आन्दोलन र भारतीय नाकाबन्दीले पर्यटकविहीन बनेको छ। ३ भदौमा लुम्बिनी प्रवेशद्वार भैरहवामा मधेशी मोर्चा र प्रहरीबीच झ्डप भएदेखि भैरहवा–लुम्बिनी सडक खण्डमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। होटल सुनसान छन्। स्थानीय व्यवसायी पेशाबाटै पलायन भइरहेका छन्।

लुम्बिनीमा २३५ वटा साना–ठूला होटल छन्। “होटल व्यवसायीहरू विस्थापित हुने क्रममा छन्”, लुम्बिनी होटल संघका महासचिव लीलामणि पौडेल भन्छन्, “बिडम्बना, विश्वभरका बुद्ध अनुयायीको मुख्य तीर्थस्थलमै यस्तो अवस्था आउँदा पनि सरकारको ध्यान गएकै छैन।”

स्थानीय होटल व्यवसायी वीरेन्द्र मिश्र पर्यटक नआएकै कारण थुप्रै होटल र उपहार पसल बन्द भइसकेका बताउँछन्। उनी आफैंले मुख्य बसपार्कमा सञ्चालन गर्दै आएको मायादेवी कोल्ड स्टोर बन्द गर्नुपर्‍यो। लुम्बिनीमा पर्यटक कमी हुँदा पोखरा, चितवनलगायतका पर्यटन क्षेत्र पनि प्रभावित भइरहेका छन्।

पर्यटक अभावमा लुम्बिनी शिथिल बनिरहेको यही वेला लुम्बिनी विकास कोषका कर्मचारी स्थायी बनाउन माग गर्दै आन्दोलनमा छन्। २४ असोजदेखि जारी आन्दोलनका क्रममा कर्मचारीले कार्यालयमै तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण कोषको सम्पूर्ण प्रशासकीय कार्य बन्द छ। त्यसो त लुम्बिनी विकास कोषको कार्यालयमै आन्दोलनरत मधेशी मोर्चाले पनि ताला लगाएको छ।

कर्मचारी संघर्ष समितिका संयोजक रवीन्द्रनाथ शुक्ला माग पूरा नहुञ्जेल ताला नखोलिने बताउँछन्। कोषका सूचना अधिकृत हरिध्वज राई दुईथरी आन्दोलनका कारण लुम्बिनी पूरै ठप्प भएको बताउँछन्। उनी भन्छन्, “बुझन संसदीय टोली आएको थियो। तर, निष्कर्ष निस्किएको छैन।”
दीपक ज्ञवाली, लुम्बिनी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>