समाचारआइतबार, माघ ३, २०७२
दिल्लीबाट फर्किएका महतो भेटवार्ता व्यस्त
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं फर्किएका छन् ।
संविधान निर्माण प्रक्रिया नै बहिष्कार गर्दै मधेश झरेर लगातार पाँच महीना बढी समयदेखि आन्दोलन गर्दै आएका महतो उपचारका लागि भन्दै नयाँ दिल्ली गएका थिए । दिल्ली नजिकै मेदान्त अस्पतालमा स्वास्थ्यपरिक्षणपछि भिटामिनको कमी भएको रिपोर्ट पाएका महतो १५ दिनपछि काठमाडौं फर्किएका हुन् ।
११ पुसमा विराटनगर-जोगवनी नाकामा धर्ना दिन पुगेका महतो त्यहाँ भएको झडपमा घाइते भएका थिए । विराटनगरको गोल्डेन र धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भई उपचार गराएका उनी थप उपचारका लागि भन्दै १७ पुसमा नयाँ दिल्ली गएका थिए ।
दिल्ली बसाईका क्रममा महतोले भारतीय नेताहरुसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार महतोलाई प्रधानमन्त्री केपी ओलीले फोन गरी नेपालमै समाधान खोज्न काठमाडौं बोलाएका हुन् । रिमालले भने, “प्रधानमन्त्रीले भारतमा बसेर आन्दोलन गर्नुभन्दा समाधानका लागि काठमाडौं आउन महतोलाई आग्रह गर्नुभएको हो ।”
अहिले महतो राजनीतिक भेटघाटमा ब्यस्त छन् । उनले अाज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओली, भोलि विहान ८ः३० बजे नेपाली कांग्रेसका सभापति सुशील कोइराला र १०ः३० बजे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए ।
नाकाबन्दीकै तहमा पुग्नेगरी मधेशमा आन्दोलन गरिरहेको मोर्चा र सरकार कार्यदलको निर्णय सकारात्मक दिशातिर गइरहेको बताइदै गर्दा महतो काठमाडौं फर्किएपछि सहमति जुट्ने संभावना बढी देखिएको छ ।
सद्भावना पार्टीका महासचिव सुमन भन्छन्, “कार्यदलले सहमति जुटाउँदै लगेको छ, सकारात्मक नतिजाको आशा गरौं ।”
उनले कार्यदलको निर्णयसँगै प्रमुख दलका नेताहरुले विश्वास दिलाउन सके सहमति जुट्नसक्ने बताए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल पनि मुलुकले निकास पाउनेमा विश्वस्त छन् । उनका अनुसार ५ माघभित्र दलहरु निचोडमा पुग्नेछन् ।
सरकार र प्रमुख प्रतिपक्षको सहमतिमा मोर्चालाई सहमत गराउँदै संविधान संशोधन गर्ने तयारी प्रमुख दलहरुको छ ।
विराटनगर-जोगवनी नाकामा धर्नाका बेला महतो घाइते भएपछि सद्भावना पार्टीका प्रतिनिधि तीन दलसँगको वार्तामा सहभागी भएनन् भने सद्भावना पार्टीले मोर्चाबाट अलग भएको सन्देश दिने गरी बेग्लै आन्दोलनका कार्यक्रमको समेत घोषणा गरेको थियो ।
यद्यपी सद्भावना एक्लैले घोषणा गरेको कार्यक्रम सशक्त हुन सकेन भने महतो दिल्लीबाट काठमाडौं फर्कदै गर्दा हिंजो २ माघमा भएको वार्तामा सद्भावनाले सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई वार्तामा सहभागी हुन पठाएको थियो ।
सरकारसँग हिंजो भएको वार्ता सकारात्मक भएको र एक दुई दिनमै सहमति बन्न सक्ने नेताहरुले बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
