समाचारआइतबार, माघ ३, २०७२
सरकारका सय दिन सफल, केही दिनमै नाकाबन्दी अन्त्यको घोषणा: मन्त्री राई
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारका सय दिन सफल भएको दाबी गरेका छन् ।
३ माघमा रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री राईले केही दिनमै भारतीय नाकाबन्दीको अन्त्यका साथै मधेशकेन्द्रित दलहरुसँग समेत सहमति भई राजनीतिक समस्या समाधान हुने बताए ।
उनले सरकारे भारतले लगाएको नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताए ।
“मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौंं । केही दिनमा शिर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौं । राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौं,” उनले भने ।
उनले मधेशी मोर्चासँग अनौपचारिक सहमति भईसकेको दाबी गर्दै सीमांकनका लागि राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैधानिकता दिइने गरी सहमति भएको बताए ।
मन्त्री राईले सरकार गठन हुनु अघिकै समस्या– भारतको नकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट समाधानमा समय खर्चिनु परेको भन्दै यसमा मुलुकको राष्ट्रिय स्वाभिमान झुक्न नदिई मुलुकलाई निकास दिन सरकार सफल भएको दाबी गरे ।
त्यसैगरी सभामुख, उपसभामुख र राष्ट्रपतिको निर्वाचन गराई संविधान कार्यान्वयन गराएको बताए ।
मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेशको समस्या समाधान, पुनर्निर्माण विधेयक, प्राधिकरण गठन गरेर महाअभियानको शुरुआत जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर भनिएजस्तो सरकारले केही गर्न सकेन भनेर शिर निहु¥याउने अवस्था नरहेको बताए ।
“प्रतिकुल परिस्थितिमा बनेको सरकारले राजनीतिक र कुटनीतिक समस्या समाधान गर्नु, अलपत्र परेको पुनःनिर्माण विधेयक पारित गराउनु, प्राधिकरण गठन गर्नु, पुनःनिर्माण महाअभियान शुरु गर्नु, भूकम्प पीडितका लागि अनुदान दिनु, दुई वर्षे सुधारको योजना ल्याउनु सरकारको उपलब्धि हो,” उनले भने, “चीनसँग दिर्घकालीन रुपमा ब्यापार पारवहन तथा ईन्धन सम्झौताको आधार तयार हुनु पनि सरकारको उपलब्धि हो ।”
उनले अगाडि भने, “सरकारलाई हेक्का छ संविधान कार्यान्वयनमा लानु पर्ने, शान्ति, सुरक्षा र सुशासन कायम गर्न जुन रफ्तारमा काम हुनु पर्ने थियो, त्यसो भएन तर, मुलुकलाई निकास दिन सरकार सफल भएको छ, यो महत्वपूर्ण उपलब्धि हो ।”
मन्त्रिपरिषदको आकार ठूलो भएको सन्दर्भमा उनले मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा उभिनुपर्ने भएकोले यो अहिलेको आवश्यकता भएको दावी गरे ।
मन्त्री राईले प्रधानमन्त्रीको लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने घोषणालाई हल्का रुपमा लिएर हावादारी टिप्पणी नगर्न आग्रह गर्दै एउटा राजनीतिज्ञ, मुलुकको कार्यकारी प्रमुखले देखेको सपना र महत्वकांक्षलाई कार्यान्वयन गर्ने समेत दावी गरे ।
“मुलुकको कार्यकारी प्रमुखले देखेको सपनालाई हावादारी भनि टिप्पणी गर्ने, हावा, सौर्य उर्जा र जलविद्युत निर्माणलाई तिब्रता दिने विषयमा किन छलफल नगर्ने ? त्यसो भए के प्रधानमन्त्रीले एक सय वर्ष पनि लोडसेडिङ अन्त्य हुँदैन भन्ने ? कसरी लोडसेडिङ अन्त्य हुन्छ भन्ने योजना केही दिनमै ल्याउँछौ । राजनीतिक निकासपछि विकासको एजेण्डामा केन्द्रीत भएर अघि बढ्छौ ।”
उनले मुलुकले निकास पाएपछि प्रधानमन्त्रीले दुई छिमेकी चीन र भारतको भ्रमण गर्ने गरी आन्तरिक तयारी शुरु भईसकेको जानकारी दिदै कुन मुलुकको पहिलो भ्रमण भन्ने कुराको अर्थ नहुने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
