समाचारसोमबार, माघ ४, २०७२
सरकार असफल भए जनतामा निराशा छाउँछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार असफल भए जनतामा निराशा छाउने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने बताए । उनले भने, “यो सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ ।”
भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको उनले बताए ।
लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेकाले जनताका बीचमा त्यही भावनाका साथ एकीकृत भएर काम गर्न सांसद्हरुलाई निर्देशन दिँए ।
वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै चालू राजनीतिक वार्ताका क्रममा त्यसप्रति सचेत रहन सुझाव दिए ।
अर्का नेता माधवकुमार नेपालले संविधान संशोधनमा नेपाली कांग्रेसले संसद्मा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने औँल्याउँदै त्यसबारे आजै बस्ने तीन दलको शीर्ष बैठकमा छलफल हुनुपर्ने बताए ।
विधान संशोधन कार्यदल
बैठकले संविधानसभा रहेका बेला बनाइएको पार्टी संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा सचेतक गोकुल घर्ती, सांसद्हरु डा वंशीधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मियाँ सम्मिलित पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलले यही १० माघभित्र दलका नेता ओलीलाई प्रस्ताव दिनुपर्नेछ । यस्तै पार्टीको संसदीय बोर्ड गठनको नामावली तयार गर्न प्रमुख सचेतक र सचेतकलाई जिम्मा दिइएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
