समाचारमंगलबार, माघ ५, २०७२
अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, ४६ विरामी
कपिलवस्तुको सोम्दी ७ र ८ का चार जना बालबालिकाको अज्ञात रोगका कारण मृत्यु भएको छ भने करिब ४६ बालबालिका विरामी परेका छन् ।
पछिल्लो १५ दिनभित्र मृत्यु भएका चारै जना सोम्दी ७ र ८ मा पर्ने इटवा गाउँका पाँच वर्षमुनीका बालबालिका हुन् ।
विरामी भएका बालबालिकामा ज्वरो आउने, झाडापखाला लाग्ने र शरीरभरी मसिनो रातो दाना आउने लक्षण देखा परेको छ ।
जिल्ला जनस्वास्थ्य कार्याल कपिलवस्तुका निमित्त प्रमुख विष्णु जयसवालका अनुसार बालबालिकामा देखिएको लक्षण अनुसार रोग पत्ता नलागेकाले अहिलेसम्म अनुमानकै आधारमा उपचार गरिएको छ ।
गाउँमा महामारी फैलिएको खबर प्राप्त भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली पुगेर ४६ जना विरामी बालबालिकाको प्राथमिक उपचार गरेको जयसवालले बताए ।
उनले विरामी बालबालिकाको रक्त परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आएपछि रोग पत्ता लाग्न सक्ने बताए ।
इटावा कपिलवस्तुको भारतीय सीमासँग जोडिएको गाउँ हो ।
गोपाल भण्डारी कपिलवस्तु