समाचारबुधबार, माघ ६, २०७२
हिउँबाट जनजीवन प्रभावित (तस्वीरहरु)
हिजो ५ माघ रातिबाट मुगु सदरमुकाम गमगढी सहित हिमाली भेगमा हिउँपर्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

मुगु सदरमुकाम गमगढीमा ५ पुस राति ९ बजेबाट भएको हिमपातले जनजीवन प्रभावित भएको छ । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, रासस
हिमपातले जिल्लामा यातायात, विमानस्थल बन्द भएका छन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्ड कच्ची भएकाले हिउँले सडक हिलाम्य हुँदा र घुच्चीलेकमा चार फिटभन्दा बढी हिउँ परेकाले मुगु भित्रने एक दर्जन मालबाहक गाडी बाटोमै रोकिएका छन् ।
रारा विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेकाले केही दिन हवाई सेवा बन्द रहने रारा नागरिक उडड्यन कार्यालय मुगुले जनाएको छ ।
सदरमुकाम गमगढीमा आज बिहान–८ बजेसम्म ७ इञ्च हिउँ जमेको गमगढी हावापानी केन्द्रले जनाएको छ । हिउँ लगातार परिरहेकाले बजार सेताम्य भएको छ । उच्च बस्ती डोल्फु, मुगु, किमी्र, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा भने ३ फिटभन्दा बढी हिउँ जमेको छ ।

मुगुका हिमाली वस्तीहरुमा ४ फिटसम्म हिउँ जम्दा जनजीवन कष्टकर भएको छ । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, रासस
डोल्फु गाउँका कार्मा लामाले फोनमा बताएअनुसार गाउँमा तीन फिटभन्दा बढी हिउँ परेकाले घरबाट निस्कन सकिएको छैन । वस्तुभाउलाई घरभित्रबाट प्वाल पारेर दाना घाँस दिइएको छ भने पानी पिउन हिउँ तताउनु पर्ने अवस्था छ ।
रारा मुर्मागाउँका शिक्षक नन्द रोकायाका अनुसार रारा ताल आसपास क्षेत्रमा पनि दुईदेखि चार फिटसम्म हिउँ परेको छ । उता सोरुकोटका स्थानीय पद्म साहीले बताएअनुसार त्यहाँ पनि बाक्लो हिउँ परेको छ भने किमी्र गाउँमा तीन फिट हिउँ परेर जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीय सन्ग्याव कार्मारोङले बताए ।

जुम्लामा लगातार हिउँपर्न थालेपछि बजार सेताम्य र जनजीवन कष्टकर भएको छ । तस्वीरः शुरबहादुर सिंह, रासस
गाउँघरमा हिउँ परेर जनजीवन कष्टकर बन्दै गए पनि सदरमुकाममा आएका कर्मचारी र अन्य पर्यटक भने हिउँसँगै रमाइरहेका देखिन्छन् ।
सुदूरपश्चिममा हिमपात
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हिमपात भइरहेको छ ।
बैतडी सदरमुकाम, देहिमाडौँ, गुरुखोला, नागार्जुन, हटैराज, कटौजपानी लगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए ।

जुम्लामा लगातार हिउँपरेर पानी समेत जमेपछि खान पकाउन हिउँ तताउनु पर्ने अवस्था आएको छ । तस्वीरः शुरबहादुर सिंह, रासस
त्यस्तै दार्चुलाको सदरमुकाम खलङ्गा, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्कर लगायत क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
चिसोबाटै बच्न दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । दार्चुलामा यसअघि पुसको दोस्रो साता र चौथो साता पनि हिमपात भएको थियो ।
डडेल्धुराको सदमुकामलगायत भीमदत्त राजमार्गका विभिन्न स्थानमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै बझाङको जयपृथ्वीबहादुर राजमार्ग आसपास लगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
शुक्रबारबाट सुधार हुने
काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ ।

तस्वीरः शुरबहादुर सिंह, जुम्ला
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ ।
उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा आज दिनभर बदली हुनेछ ।
आज मात्रै मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको कँडेलले जानकारी दिइन् । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।
शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् कँडेलले बताइन् ।

तस्वीरः शुरबहादुर सिंह, जुम्ला
विभागका अनुसार मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हुने हवाई उडान प्रभावित हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पनि ‘भिजीविलिटी’ असाध्यै कम रहेको कारण उडानमा समस्या भएको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
